२०८२ चैत २८ , शनिबार 11, April 2026, Saturday

पेट्रोलको मूल्य घट्यो, डिजेल र मट्टीतेलको बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन १६ गते शुक्रबार

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । शुक्रबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य घटाइएको तथा डिजेल र मट्टीतेलको मूल्य बढाइएको हो । निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ घटाइएको हो ।

डिजेल र मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५८ रुपैयाँ र तेस्रो वर्गका लागि १५९ रुपैयाँ तोकिएको छ ।

यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४९ रुपैयाँ र तेस्रो वर्गका लागि १५० रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रबार