२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

मुगुबाट फापर, सिमीसहित चार करोडको खाद्यवस्तु निर्यात

सत्यपाटीसत्यपाटी । मुगु । २०८२ साउन १४ गते बुधबार

गत आर्थिक वर्ष २०८१–०८२ मा मुगु जिल्लाबाट चार करोड रूपैयाँ बराबरको खाद्यवस्तु (चिनो, काउनो, रातो चामल, सिमी, तितेफापर, मिठेफापर, नाफल, जौ) अन्य जिल्लामा बिक्री भएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ मुगुका निमित्त कार्यालय प्रमुख तेजविक्रम मल्लका अनुसार गत आवमा जिल्लाका किसानले उत्पादन गरेका ती खाद्यवस्तु सो रकम बराबर जिल्ला बाहिर बिक्री भएको हो ।

सो कार्यक्रमले जिल्लालाई सिमी जोनका रूपमा विकसित गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइएको छ । साथै कार्यक्रमले सिमी ढुवानीमा किसानलाई ५० प्रतिशत अनुदान दिन थालेको छ ।

जिल्लाबाट ७४ मेट्रिकटन सिमी बिक्री भएको र सिमी ढुवानीमा किसानलाई राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले चार लाख ९० हजार रूपैयाँ ढुवानी अनुदान दिएको थियो ।

त्यसैगरी, २३० मेट्रिकटन अन्य परम्परागत बाली निर्यात भएको र यसमा चिनो, काउनो, कोदो, फापर अर्गानिक परम्परागत अन्न रहेको पनि कार्यालयले जनाएको छ । यी बालीको स्थानीय गाउँघरको मूल्य दुई करोड सात लाख रूपैयाँ हुन आउँछ ।

निर्यात भएका परम्परागत अन्नमध्ये सिमीलाई मात्र ढुवानी अनुदान दिइएको थियो । चालु आवमा सिमी ढुवानी अनुदानका लागि पाँच लाख रूपैयाँ र अन्य बाली ढुवानी अनुदानका लागि तीन लाख रूपैयाँ विनियोजन भएको कार्यक्रम कार्यान्वयन एकाइ प्रमुख मल्लले बताए ।

चालु आवमा ८० मेट्रिकटन सिमी जिल्लाबाट निर्यात गर्ने लक्ष्य लिइएको पनि कार्यालय प्रमुख मल्लले जानकारी गराए । जिल्लाका किसानले परम्परागत अन्नबाली चिनो, काउनो, रातो चामल, सिमी, तितेफापर, मिठेफापर, नाफल, जौ पर्याप्त मात्रामा उत्पादन हुने गर्दछ ।

बजारसम्म पुर्याउने यातायातका साधन नपाउदा, बजार थाहा नपाउँदा गाउँघरमै सस्तो मूल्यमा बिक्री गर्दै आएका छन् । सरकारले बजारीकरणको खोजी र ढुवानी अनुदान बढाउन ध्यान दिने हो भने ग्रामीण आथिक विकासमा परम्परागत बालीले राम्रो स्थान लिने जनाइएको छ ।

प्रकाशित मिति : २०८२ साउन १४ गते बुधबार