२०८३ असार ३ , बुधबार 18, June 2026, Thursday

एमाले निकट युवा संघका महासचिवमाथि यौन दुराचारको आरोप

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन १३ गते मंगलबार

एमाले निकट राष्ट्रिय युवा संघ नेपालका महासचिव महेश चौलागाईंमाथि यौन दुराचारको गम्भीर आरोप लागेको छ । संघबाट हालै निलम्बनमा परेकी केन्द्रीय सदस्य युवान्तिका कुलुङले रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी चौलागाईंले आफ्नै सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको दाबी गरेकी हुन् ।

उनका अनुसार केही समय पहिले चौलागाईंले एक राजनीतिक कार्यक्रममा सहभागी भई फर्कने क्रममा आफ्नै गाडीमै सहकर्मी महिलामाथि अभद्र व्यवहार गरेका थिए । पीडित महिलाले पछि संगठनमा उजुरी दिएकी थिइन्, जसपछि चौलागाईंले कार्यालयमै उक्त महिलाको खुट्टा ढोगेर माफी मागेको दाबी गरिएको छ । उक्त घटनापछि विषय तत्कालका लागि साम्य भएको उल्लेख गरिएको छ ।

कुलुङले आफूलाई गलत आरोप लगाएर कारबाही गरिएको दाबी गर्दै आफ्नो निलम्बन सम्बन्धी निर्णय गर्ने संघ नेतृत्वलाई चौलागाईंविरुद्ध ती सहकर्मीले संघमा दिएको निवेदन खोजेर मिडियामा सार्वजनिक गर्न चुनौतीसमेत दिएकी छन् । संघका एक नेताका अनुसार नेपालगन्ज महाधिवेशनपछि चौलागाईंले बढी संगठनमा सक्रियता बढाएका थिए ।

यही सक्रियताको आधारमा उनलाई स्थायी कमिटी सदस्य बनाइएको थियो र लगत्तै केन्द्रीय सचिव पदमा मनोनयन गरिएको थियो । राष्ट्रिय युवा संघको इतिहासमा दुई वर्ष अन्तरालका दुई महाधिवेशनको बीचमा केन्द्रीय सदस्यबाट महासचिव बन्ने चौलागाईं पहिलो व्यक्ति हुन् । चौलागाईंमाथि नेतासँग नजिकिएर व्यक्तिगत लाभ उठाउने र राजनीतिक पहुँचका आधारमा पद पाउने गरेको आरोप पनि लागेको छ ।

कुलुङले लगाएका आरोपबारे चौलागाईंको प्रतिक्रिया लिन पटक–पटक प्रयास गरेका थियौँ । फोन सम्पर्क गर्न खोज्दा उनले उठाएनन् भने म्यासेजमार्फत सोधिएका प्रश्नहरूमा पनि कुनै जवाफ दिएनन् । सार्वजनिक आरोपप्रति धारणा बुझ्न खोज्दासमेत चौलागाईं सम्पर्कमा आउन तयार नभएका हुन् ।

यसैबीच, राष्ट्रिय युवा संघ नेपालले साउन ९ गते लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल र केन्द्रीय सदस्य युवान्तिका कुलुङलाई निलम्बन गरेको थियो । संघले संगठनमा अराजकता फैलाएको र ठगी गरेको आरोपमा उनीहरूलाई निलम्बन गरिएको जनाएको छ । तर, खरेल र कुलुङको दाबी अनुसार उनीहरूलाई विद्या भण्डारीलाई समर्थन गरेकै कारण राजनीतिक पूर्वाग्रहीरूपमा कारबाही गरिएको हो ।

प्रकाशित मिति : २०८२ साउन १३ गते मंगलबार