कैलालीको टीकापुर–४ का केरा किसान टेकेन्द्र धामीले केराखेती गरेर एक बिघामा १५ लाखसम्मको केरा उत्पादन गरेका छन् । धामीले गतवर्ष तीन बिघा सात कठ्ठामा गरिएको केराखेतीबाट रु ४७ लाखको केरा बिक्री गरे ।
‘समयमै उत्पादन हुँदा रु ४७ लाखको केरा बिक्री गरेँ, फुटकर बिक्री गरेको हिसाब राखेको छैन,’ उनले भने, ‘मैले राम्रो उत्पादन भएका बेला एक बिघामा रु १५ लाखसम्म कमाएको छु ।’ धामीले १९ बिघामा केराखेती गरेका छन् ।
यसका साथै तीन बिघामा उखु, अन्य जमिनमा धान र केराको टिस्यु कल्चर बेर्ना उत्पादनको काम गरिरहेका छन् । १४ वर्षदेखि केराखेतीमा संलग्न धामीले थोपा सिँचाइ प्रविधिबाट खेती गर्दै आएका छन् । यसरी केराखेतीमा लागेका धामीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले राम्रो साथ दिएको छ ।
‘आयोजनाले थोपा सिँचाइ, पावर टिलर, अटो सहयोग गरेको छ,’ उनले भने, ‘मैले उत्पादन गरेका केराका बेर्ना अन्य किसानलाई वितरण गर्नका लागि किनिदिने गरेको छ ।’ अहिले कैलालीका किसानले बारीमा रु.४० देखि ४५ मा केरा बिक्री गरिरहेका छन् तर बजारमा रु.८० बढीमा बिक्री हुन्छ । केरा उत्पादक किसानले पनि मूल्य पाएका छैनन् भने उपभोक्ता महँगोमा परिरहेका छन् । मूल्यबीचका बिचौलियाले पाइरहेको अवस्था छ ।
सत्यपाटी