२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

भुटानी शरणार्थी नाइके बालकृष्णलाई उपनिर्वाचनमा उमेद्वार बनाउँदै कांग्रेस

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन १२ गते सोमबार

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा रूपन्देही–३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनबारे छलफल भएको छ । सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा शुक्रबार बसेको बैठकमा सो क्षेत्रको वस्तुस्थिति र पार्टीको तयारीबारे छलफल भएको हो ।

बैठकमा जिल्ला सभापति रामकृष्ण खाण, लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुन र केन्द्रीय सदस्य बालकृष्ण खाणले क्षेत्रको अवस्था ब्रिफिङ गरेका थिए । पार्टी एकताका साथ अघि बढ्ने सहमति भएको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए । उम्मेदवारबारे भने औपचारिक निर्णय भइनसकेको बताइएको छ ।

पूर्वमन्त्री बालकृष्ण खाणले उम्मेदवारीको तयारी गरेका छन् तर उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाले कतिपय नेताहरू उनको उम्मेदवारीविरुद्ध छन् । केही दिनअघि देउवालाई भेटेका पार्टीका पाँच पूर्वपदाधिकारीले खाण वा अन्य जित्ने क्षमताका उम्मेदवार अघि सार्न सुझाव दिएका थिए ।

२०७९ सालको निर्वाचनमा कांग्रेस रूपन्देही–३ मा समानुपातिकतर्फ पहिलो दल बनेको थियो । कांग्रेसले २०,२७९, एमालेले १६,९८६, रास्वपाले १४,१५४ र राप्रपाले ९,१५४ मत पाएका थिए । राप्रपा उम्मेदवार दीपक बोहराको निधनपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २०८२ साउन १२ गते सोमबार