२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

मन्त्री हेरफेरको गृहकार्यमा ओली, देउवा नमानेपछि समस्या

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन ११ गते आइतबार

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्यमा जुटेका छन् । एमाले अध्यक्षसमेत रहेका ओलीले पार्टीको विभिन्न बैठक सकेलगत्तै मन्त्री फेरबदलको तयारी थालेका हुन् । बालुवाटार स्रोतका अनुसार, बिहीबार सार्वजनिक कुनै कार्यक्रममा नदेखिएका ओली बालुवाटारमै बसेर आन्तरिक गृहकार्यमा जुटेका छन् ।

केन्द्रीय कमिटीको लगातार बैठक तथा अन्य राजनीतिक व्यस्तताबाट समय निकालेर उनले मन्त्रिपरिषद् पुनर्संरचनाको योजना अघि सारेका हुन् । प्रधानमन्त्री ओलीले सत्तारुढ गठबन्धनका साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गरेका छन् । सरकार गठनको एक वर्ष नपुग्दै केही मन्त्रीहरू ‘घुस डिल’ प्रकरणमा मुछिएपछि ओलीले देउवासँग केही मन्त्रीहरू हटाउने प्रस्ताव राखेका थिए ।

निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको घुससम्बन्धी अडियो सार्वजनिक भइसकेको छ। सोही आधारमा ओलीले मन्त्री फेर्नुपर्ने आवश्यकता औंल्याएका हुन् । तर देउवाले उक्त प्रस्तावमा असहमति जनाएका छन् । स्रोतका अनुसार उनले भनेका छन्, ‘तपाईं आफ्ना पार्टीका मन्त्री फेर्नुस्, कांग्रेसका मन्त्रीहरू परिवर्तन हुने छैनन् ।’ देउवाले आफैं प्रधानमन्त्री बन्ने अवस्था आएमा मात्र मन्त्री हेरफेर गर्ने बताएका छन् ।

यता, कांग्रेसभित्र भने मन्त्रीहरूको कार्यसम्पादनप्रति असन्तुष्टि बढ्दै गएको देखिन्छ । मंगलबार सभापति देउवासँग भेटेका पाँचजना पूर्वपदाधिकारीले असक्षम मन्त्रीहरू फिर्ता बोलाउन सुझाव दिएका थिए । सुझाव दिनेमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र पूर्वसहमहामन्त्री डा.प्रकाशशरण महत छन् । तर देउवा अहिले नै मन्त्री फेर्दा आकांक्षीहरूबीच विवाद चर्किने, गुट सम्हाल्न गाह्रो पर्ने भन्दै अनिच्छुक देखिएका छन् ।

प्रधानमन्त्रीसँगको संवादपछि देउवाले शुक्रबार बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको आन्तरिक समीकरणबारे छलफल हुनेछ । यता, एमालेभित्र पनि काम गर्न नसक्ने र विवादमा तानिएका मन्त्रीहरूलाई तत्काल फिर्ता बोलाउनुपर्ने आवाज चर्किएको छ । प्रधानमन्त्री ओली त्यसैको तयारीमा जुटिरहेका छन् ।

प्रकाशित मिति : २०८२ साउन ११ गते आइतबार