२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

बाँकेमा तीन अर्बले बढ्यो विकास खर्च

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ साउन ११ गते आइतबार

बाँकेमा आर्थिक वर्ष २०८०-०८१ को तुलनामा गत आव २०८१–०८२ मा विकास बजेट खर्चमा करिब तीन अर्ब रुपैयाँले वृद्धि भएको छ । आव २०८०–०८१ मा पाँच अर्ब ३१ करोड ३४ लाख ६४ हजार ९६९ रुपैयाँ विकास खर्च भएको छ ।

गत आव २०८१–०८२ मा आठ अर्ब १२ करोड ८८ लाख ९२ हजार ३६१ रुपैयाँ खर्च भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा जिल्लामा विकास खर्चमा दुई अर्ब ८१ करोड ५४ लाख २७ हजार ३९२ रुपैयाँले वृद्धि भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीका अनुसार सङ्घ अन्तर्गतका कार्यालयले बाँकेमा गत आवमा ८५.६४ प्रतिशत पुँजीगत (विकास निर्माण) बजेट खर्च गरेका छन् ।

जिल्लामा सङ्घ अन्तर्गतका कार्यालयका लागि पुँजीगततर्फ नौ अर्ब ४९ करोड २२ लाख ४६ हजार ५०० रूपैयाँ विनियोजन भएकोमा आठ अर्ब १२ करोड ८८ लाख ९२ हजार ३६१ रुपैयाँ खर्च भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार अघिल्लो आव २०८०–०८१ मा पुँजीगततर्फ छ अर्ब १३ करोड २९ लाख १५ हजार ७१६ रुपैयाँ विनियोजन भएकोमा पाँच अर्ब ३१ करोड ३४ लाख ६४ हजार ९६९ रुपैयाँ खर्च भएको थियो ।

बाँकेमा विकास खर्च सबैभन्दा बढी गर्ने कार्यालयमा हुलाकी सडक आयोजना, पुल योजना पश्चिम सेक्टर, सिक्टा सिँचाइ आयोजना, सडक डिभिजन कार्यालय, सङ्घीय योजना कार्यान्वयन एकाइ र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रहेका छन् ।

प्रमुख कोष नियन्त्रक भण्डारीले यी कार्यालयले मात्रै आठ अर्ब ६० करोड, सात लाख ५० हजार बजेट प्राप्त गरेकोमा सात अर्ब ३८ करोड १७ लाख ३३ हजार रुपैयाँ खर्च गरेको बताए । यस्ते बाँके जिल्लाको कुल चालु र पुँजीगत बजेट खर्च ९०.२० प्रतिशत रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

गत आवमा कुल चालु र पुँजीगत खर्च ९१.३७ प्रतिशत रहेको थियो । कार्यालयका अनुसार आव २०८१–०८२ मा बाँकेलाई सङ्घीय सरकारले चालु र पुँजीगत गरी कुल २२ अर्ब पाँच करोड ५० लाख नौ हजार ७४१ रुपैयाँ विनियोजन गरेकोमा १९ अर्ब ८९ करोड ४३ लाख ४० हजार २९८ रुपैयाँ खर्च भएको छ ।

सोमध्ये पुँजीगततर्फ नौ अर्ब ४९ करोड २२ लाख ४६ हजार पाँच सय रुपैयाँ विनियोजन भएकोमा आठ अर्ब १२ करोड ८८ लाख ९२ हजार ३६१ रुपैयाँ खर्च भएको । चालुतर्फ १२ अर्ब ५६ करोड २७ लाख ६३ हजार २४१ रुपैयाँ विनियोजन भएकोमा ११ अर्ब ७६ करोड ५४ लाख ४७ हजार ९३७ रुपैयाँ खर्च भएको छ ।

आव २०८०–०८१ मा बाँकेलाई सङ्घीय सरकारले चालु र पुँजीगत गरी कुल १८ अर्ब २४ करोड ७० लाख ९२ हजार ४२६ रुपैयाँ विनियोजन गरेकोमा १६ अर्ब ६७ करोड ३३ लाख ३६ हजार १० रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन ११ गते आइतबार