२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

‘विद्याको पक्षमा बोल्दा’ एमालेका दुई युवा नेता कारबाहीमा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन १० गते शनिबार

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले केन्द्रीय सदस्य युवन्तिका राई र लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुरज खरेललाई निलम्बन गरेको छ । निलम्बनमा परेका दुवै जनाले पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई समर्थन गरेकाले कारवाही गरिएको बताएका छन् । युवा संघले भने कसैको पक्ष बिपक्षमा लागेको कारण नभई अनुशासनको कार्वाही गरिएको जनाएको छ ।

‘आजको मितिबाट लागू हुने गरी राष्ट्रिय युवा संघ नेपालको विधान २०४७ (दशौं राष्ट्रिय महाधिवेशन २०८२ जेठ ९–११, पोखरा, कास्कीद्वारा संशोधित)को धारा ४१ तथा धारा ४२ (क) र (ख) बमोजिम संगठनका सम्पूर्ण जिम्मेवारीहरूबाट पदमुक्त गर्दै एक वर्षका लागि संगठनबाट निलम्बन गर्ने निर्णय गरिएको छ,’ संघका महासचिव महेश चौलागाईंको हस्ताक्षर रहेको पत्रमा उल्लेख छ ।

निलम्बित भएका खरेलले भनेका छन्, ‘मैले विधान बमोजिम दुई कार्यकाल र ७० वर्षे उमेरहदको व्यवस्था हटाउन हुँदैन, त्यो ठीक होइन भन्ने विचार राखेको थिएँ । अहिले विधान संशोधन प्रस्तावका विषयमा नेता, कार्यकर्ताका धारणा त आइहाल्छन् नि । विचारमा विविधता त हुने नै भयो । तर, पार्टी नेतृत्वको पक्षधर भनिएकाहरूले हुर्मत लिने प्रयास गरे ।’

कारवाहीपछि युवन्तिकाले भनिन्, ‘म संसारको सर्वोच्च शिखर चढेर आएकी हुँ । मेरो लागि सानातिना चुनौती, षड्यन्त्र र तगाराका थुम्काहरू त केवल एक जम्पको दूरीमा छन् । मेरो उचाइ मापन गर्न खोज्नेहरूले पहिले आफू कहाँ उभिएका छन भन्ने बुझुन् ।’

प्रकाशित मिति : २०८२ साउन १० गते शनिबार