२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

विद्या भण्डारीकी लेख्छिन्, ‘हामीलाई एमालेप्रति नैतिक समर्थन गर्न नसक्ने ठाउँमा पुर्‍याइयो’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन ७ गते बुधबार

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन नदिने निर्णय गरेपछि उनको छोरी उषाकिरण भण्डारीले सामाजिक सञ्जालमार्फत तीव्र असन्तुष्टि व्यक्त गरेकी छिन् । उषाकिरणले नेकपा एमालेले गरेका निर्णयप्रति कतिपयले अच्चम मानेर आफू छक्क परेको प्रतिक्रिया जनाएकी हुन् । एमालेको मंगलबार रातिसम्म बसेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा आउनबाट रोक्ने निर्णय गरेको थियो ।

भण्डारी मदन भण्डारी फाउन्डेसनकी अध्यक्षसमेत रहेकी उनले त्यसप्रति सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै यस्तो निर्णयमा पुग्न तिगडम गरिएको समेत आरोप लगाएकी छिन् । ‘तपाईंहरू मध्ये कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परें,’ भण्डारीले लेखेकी छिन्, ‘तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहीँ अच्चमित छैन ।’

उषाकिरणले थपेकी छिन्, ‘म खुसी छु कि यो खुलारूपमा बाहिर आयो ।’ पुष्पलालको परिवारले समेत एमालेमा नैतिक सर्मथन जनाउन किन नचाहेको होला भन्ने आफूलाई पहिले लागे पनि विगत एक महिनादेखि त्यसबारे ज्ञान बोध भएको समेत भण्डारीको भनाइ छ । एमालेभित्रको चरम व्यक्तिवादी चरित्रका कारण पुष्पलालको परिवार त्यो तहसम्म पुगेको रहेछ भन्ने ज्ञान आफूलाई भएको र आफूहरुलाई समेत त्यो तहसम्म पुर्याउन खोजिएको बताइन् ।

‘अनि, आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग,’ उषाकिरणले लेखेकी छिन्, ‘मलाई उहिले उहिले लाग्थ्यो किन उहाँको परिवार एमाले मा नैतिक समर्थन गर्न पनि देखिने गरि प्रस्तुत हुँदैन, हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैं देखिने गरि पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्छ र सोही अनुरुप कोसिस गरियो ।’

उनले लेखेकी छिन्, ‘तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउँदा रहेछन् । र नैतिक समर्थन खोज्दैनन् पनि । यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो । त्यस कारण यो प्रकरणलाई धन्यवाद ।’ गत असार १४ गते पूर्वराष्ट्रपति भण्डारीले आफू एमालेको सदस्यता नविकरण गरेर सक्रिय राजनीतिमा आउन लागेको घोषणा गरेकी थिइन् । त्यसपछि एमालेभित्र तरंग पैदा भएको थियो, मंगलबार सम्पन्न बैठकले भण्डारीलाई सम्मानित ठाउँमा बस्न भनेको हो ।

प्रकाशित मिति : २०८२ साउन ७ गते बुधबार