२०८२ चैत ३० , सोमबार 13, April 2026, Monday

वर्षमानले भने, ‘प्रधानमन्त्री ओली आरजुमाथि मुद्दा लगाउँदैछन्’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन ३ गते शनिबार

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले अन्य राजनीतिक दलका नेताहरूप्रति प्रतिशोध लिने क्रम नरोकिएको बताएका छन् । पार्टी सम्बद्ध गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले शनिबार राजधानीमा आयोजना गरेको पार्टी स्कुल कार्यक्रममा बोल्दै पुनले ओली निरङ्कुश र स्वेच्छाचारी तथा प्रतिशोधी प्रवृत्तिका मानिस भएको टिप्पणी गरे ।

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबाट थालेको प्रतिशोधको शृङ्खला कांग्रेस नेतृ एवं वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवासम्म पुगेको टुङ्गिने दाबी उनको थियो । सहकारी ठगीमा लामिछानेलाई थुनेर रास्वपा विभाजन गर्ने नियतका साथ ओलीले कदम चालेको पुनले आरोप लगाए । यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मुद्दा लगाएर सो पार्टी एमालेमा गाभ्ने ओलीको नियत सबैले बुझेको उनको भनाइ थियो ।

उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन गराएर एउटा समूहलाई आफूतिर मिलाउने तयारीमा ओली रहेको दाबी पुनले गरे । उनले भने, ‘ओलीजीले विरोधीलाई ठेगान लगाउने नाममा अरू दलका मूल नेतृत्वमाथि मुद्दा मामिला लगाउने पार्टी विघटन गरिदिने वा आफूमा गाभ्ने नीति लिनुभएको छ । रवि लामिछानेलाई भित्र राखेर पार्टी फुटाइदिने । एक्स्ट्रिम राजावादी दुर्गा प्रसाईं र रवीन्द्र मिश्रलाई जेल हाल्दिने । राजेन्द्र लिङदेनलाई अहिले आन्दोलन नगर भनेर रोक्न लगाउने । माधव नेपाललाई मुद्दा लगाएर एकीकृत समाजवादी आफूमा गाभ्ने ।

उपेन्द्र यादवजीको पार्टी फुटाएर एउटा समूह आफूमा मिलाउने प्रयास भइरहेको भन्दै पुन थपे, ‘हेर्दै जानुस् कांग्रेस गठबन्धनबाट अलिकति चलमलाउन थाल्यो भने उहाँले कुनै केही न केही नाममा आरजु राणालाई मुद्दा लगाउने तयारी गर्नुभएको छ । उहाँले अब आरजुका आमा छोराको पालो हो भनेर कांग्रेस नेतृत्वलाई तर्साइरहनु भएको छ ।’ भिजिट भिसा प्रकरणमा रमेश लेखक र टेरामक्स खरिदमा मोहनबहादुर बस्नेतलाई तानेर ओलीले कांग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब बढाएको दाबी पुनले गरे ।

पुनले नेपाली कांग्रेसकी नेतृ आरजु राणामाथि पनि मुद्दा लगाउने तयारी भएको दाबी गरे । ‘कांग्रेस गठबन्धनबाट अलिकति चलायमान भएमा ओलीले आरजु राणालाई कुनै निहुँमा मुद्दा लगाउने तयारीमा हुनुहुन्छ,’ उनले भने, ‘कांग्रेस नेतृत्वलाई तर्साउन उनले आरजु र उनका परिवारलाई निशाना बनाउने कुरा गर्नुभएको छ ।’ आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत फसाउन सकिन्छ कि भनेर ओलीले एक वर्षअघि नै प्रयास गरेको पुनले बताए ।

‘जब सीआइबी, सम्पत्ति शुद्धीकरण र अख्तियारबाट केही पनि भेटिएन, सकिँदैन भनेपछि धेरै पहिला कुनै बेला उहाँका पिए बसेका विकेश श्रेष्ठमार्फत तान्न सकिन्छ कि भनेर शेरा दरबारतिर लाग्नुभयो, यो कुरा पुष्टि नै भइसकेको छ,’ पुनले भने । प्रचण्डले शेरा दरबारबाट सुरु गरेर यति, ओम्नी, वाइडबडी, बालुवाटार र गिरिबन्धुसहित सबै प्रकरणको छानबिन गर्नुपर्ने बताएपछि ओली चुप लागेको उनको भनाइ थियो । आफूहरूले नेकपा कालमा ओलीसँग तीन वर्ष सँगै काम गरेको र उनको तरिकासँग परिचित रहेको पुनले बताए ।

ओलीको एकाधिकारवादी निरङ्कुश र स्वेच्छाचारी प्रवृत्तिबारे आफूहरूलाई थाहा भएरै उनीविरुद्ध आफूहरूले लडिरहेको पुनले उल्लेख गरे । ‘सबै एमाले होइन, ओलीको झण्डामुनि रहेको दक्षिणपन्थी र एकाधिकारवादी सानो गिरोहविरुद्ध हामी लडिरहेका छौँ । केही गल्ती नगरेका कारण हामी डराएका छैनौँ । अरू पार्टीमा जसरी माओवादीमा ओलीजीले भाँडभैलो मच्चाउने, तोडफोड गर्न सक्नुहुन्न,’ उनले भने । पुनले ओली सरकारको एकवर्ष त्यसै खेर गएको बताए । केपी ओली नेतृत्वको सरकारको एक वर्ष भ्रष्टाचार र बेथितिमै बितेको उनले बताए ।

‘केपी ओली नेतृत्वको सरकारको एक वर्ष भ्रष्टाचार र बेथितिमै बितेको छ । भ्रष्टाचारका एकपछि अर्को काण्ड थपिएको छ’, उनले भने, ‘भर्खरै घूस मागेका एक मन्त्रीले राजीनामा दिए । अर्काको फेरि घूस डिल गरेको अडियो सार्वजनिक भएको छ । एक वर्षमा सरकारले बिचौलिया पोस्ने कामबाहेक केही गरेको छैन ।’ आफूहरू ओलीको एकाधिकारवादी र निरंकुश प्रवृत्तिविरुद्ध लडिरहेको बताउँदै पुनले माओवादीभित्र कसैले भाँडभैलो मचाउन नसक्ने जिकिर गरे ।

प्रकाशित मिति : २०८२ साउन ३ गते शनिबार