२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

बिमाको रकमको भुक्तानी नआउँदा भेरी अस्पतालको सेवा प्रवाहमा समस्या

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ असार ३१ गते मंगलबार

पश्चिम नेपालमै सबैभन्दा बढी बिरामीको उपचार गर्ने सरकारी अस्पताल नेपालगन्जस्थित भेरी अस्पतालले स्वास्थ्य बिमा बोर्डबाट ठुलो रकम भुक्तानी नपाउँदा सेवा प्रवाह प्रभावित हुने अवस्था आएको जनाएको छ । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.निराजन सुवेदीका अनुसार १६ करोडभन्दा बढी बिमा वापतको रकम समयमै नआउँदा अस्पतालको सेवा सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको हो ।

उनले भने, ‘बिरामीले सेवा लिएको भुक्तानी फिर्ता माग्नुपर्ने हुन्छ, तर रकम नआउँदा अस्पतालको आर्थिक व्यवस्थापनमा गम्भीर समस्या परेको छ । अस्पतालका अनुसार स्वास्थ्य बिमा बोर्डले चालु आर्थिक वर्ष २०८१–०८२ मा १९ करोड ७० लाख रुपैयाँ भुक्तानी दिनुपर्नेमा हालसम्म मात्र तीन करोड ७० लाख रुपैयाँ दिएको छ । गत वर्षको ९० लाखमध्ये केही दिनअघि मात्रै ८१ लाख रुपैयाँ मात्र भुक्तानी गरिएको छ ।

बोर्डले अस्पताललाई १६ करोड नौ लाख रुपियाँ अझै भुक्तानी गर्न बाँकी रहेको अस्पताल प्रमुख डा.सुवेदीले बताए । उनका अनुसार बाँकी रकम नआउँदा आवश्यक औषधी, अक्सिजन, प्रयोगशाला सामग्री, डायलाइसिस र क्याथ ल्याबका लागि आवश्यक रसायनहरू खरिद गर्न नसकिने अवस्था आएको छ । एक वर्षदेखि व्यापारी र सप्लायर्सलाई भुक्तानी गर्न नसकिएको र अहिले १४ करोड रुपयाँ उनिहरुलाई भुक्तानी गर्न बाँकी रहेको डा.सुवेदीले बताए ।

‘अब व्यापारीहरूले पनि उधारोमा सामान दिन नसक्ने अवस्था आइसकेको छ, जसले गर्दा अस्पतालको नियमित सेवा सञ्चालन नै कठिन हुँदै गएको छ,’ उनले थपे । भेरी अस्पताल विकास समितिका सदस्य डा.डक्टप्रसाद धितालले बिमा अनिवार्य बनाएको सरकार आफैँले समयमै रकम नदिँदा अस्पतालका लागि बिमा कार्यक्रम ‘निल्नु न ओकल्नु’ जस्तो बनेको बताए । उनले थपे, ‘सरकारले यदि भुक्तानी दिन सक्दैन भने बिमा कार्यक्रम हटाउनुपर्छ, वा बोर्डले नियमित भुक्तानी गर्नुपर्छ ।’

प्रकाशित मिति : २०८२ असार ३१ गते मंगलबार