२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

नेपालगन्ज भन्सारबाट तरकारी र फलफूल आयात घट्यो

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ असार २९ गते आइतबार

पश्चिम नेपालकै ठुलो नाकामध्येको एक नेपालगन्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षमा तरकारी र फलफूलको आयात उल्लेख्य परिमाणमा घटेको छ । पछिल्लो समय नेपालमा तरकारी र फलफूलको स्थानीय उत्पादन बढ्दै गएकाले भारतबाट हुने गरेको तरकारी र फलफूलको आयात घटेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले जानकारी दिए ।

नेपालगन्ज नाकाबाट विगतमा अत्यधिक आयात हुने गरेको आलु, ताजा तरकारी र सागपात तथा आँप, अंगुर, नरिवल, सुन्तला र अन्य ताजा फलफूलको आयात चालु आर्थिक वर्षमा उल्लेख्य परिमाणमा घटेको हो । कार्यालय प्रमुख पौडेलका अनुसार आर्थिक वर्ष २०८०–०८१ को एघार महिनामा एक अर्ब पाँच करोड ९८ लाख २६ हजार रुपैयाँको चार करोड २७ लाख सात हजार ५०२ किलो आलु आयात भएकोमा थियो । चालु आर्थिक वर्ष २०८१–०८२ को सोही अवधीमा ७२ करोड १८ लाख ६३ हजार रुपैयाँको दुई करोड ९० लाख ८४ हजार ९१ किलो आलु आयात भएको छ ।

चालु आवमा आलुको आयात ३३ करोड भन्दा बढी घटेको छ । सोही प्रकारले ६ करोड ५६ लाख ४८ हजारको १९ लाख ३३ हजार २०९ किलो ताजा तरकारी र सागपात गत आवमा आयात भएकोमा चालु आवमा चार करोड ३४ लाख १० हजारको १३ लाख १० हजार ५०८ किलो तरकारी र सागपात आयात भएको छ । यसैगरी गत आवमा १२ करोड ८ लाख ५२ हजारको सात लाख ३१ हजार ६१५ किलो नरिवल आयात भएकोमा चालु आवमा चार करोड ८९ लाख ३५ हजारको पाँच लाख ६० हजार ४६ किलो नरिवल आयात छ ।

सोही प्रकारले गत आवमा ३० करोड ९१ लाख चार हजारको ७४ लाख ३३ हजार ४७० किलो केरा आयात भएकोमा चालु आवमा २१ करोड ७४ लाख ८४ हजारको ५२ लाख २८ हजार १९७ किलो केरा आयात भएको छ । यस्तै गत आवमा तीन करोड १७ लाख ८१ हजार रुपैयाँको ६ लाख ५१ हजार १०० किलो आँप आयात भएकोमा चालु आवमा दुई करोड १४ लाख ९९ हजारको तीन लाख ४२ हजार ३९५ किलो आँप आयात भएको छ ।

सोही प्रकारले गत आवमा ११ करोड ८७ लाख ८७ हजारको १८ लाख १९ हजार ६३६ किलो सुन्तला आयात भएकोमा चालु आवमा चार करोड ९७ लाख २३ हजारको सात लाख ५५ हजार ९८८ किलो सुन्तला आयात भएको हो । यस्तै, गत आवमा १८ करोड ५७ लाख ६३ हजारको २२ लाख ५८ हजार ८०० किलो अंगुर आयात भएकोमा चालु आवमा ११ करोड ८७ लाख २० हजार रुपैयाँको १४ लाख ३७ हजार ७४९ किलो अंगुर आयात भएको छ ।

यसैगरी यो नाकाबाट गत आवमा ११ करोड ३३ लाख ३६ हजार रुपैयाँको नौ लाख ७८ हजार ५६८ किलो अन्य ताजा फलफूल आयात भएकोमा चालु आवमा ६ करोड १९ लाख ६७ हजार रुपैयाँको पाँच लाख नौ हजार ६८७ किलो ताजा फलफूल आयात भएको भन्सार कार्यालयले जनाएको छ । नेपालगन्जस्थित रानीतलाउ फलफूल तथा तरकारी मण्डीले नेपालमा फलफूल र तरकारीको स्थानीय उत्पादन बढ्दै गएकाले आयात घट्दै गएको जनाएको छ ।

प्रकाशित मिति : २०८२ असार २९ गते आइतबार