बाढी पहिरोले रसुवागढी नाका हुँदै भइरहेको चीनसँगको व्यापारिक सम्बन्ध विच्छेद भएको छ । चीनतर्फबाट आएको बाढीले चीन–नेपाल जोड्ने व्यापारिक नाका रसुवागढीको पुल बगाएसँगै व्यापारिक सम्बन्ध तत्काललाई टुटेको छ भने अर्बौँको व्यापार प्रभावित हुने देखिएको छ ।
गएराती आएको बाढीले मितेरी पुल बगाउनुका साथै भन्सार ड्राइपोर्टमा समेत ठुलो क्षति गरेको थियो । सोही कारण जनधनको क्षति हुनुका साथै ड्राइपोर्टमा रहेका दर्जनौँ विद्युतीय (इभी) गाडीहरू समेत बगाएको प्रहरीको प्रारम्भिक अनुमान छ । रसुवागढी नाका पछिल्लो समय अत्यन्तै महत्त्वपूर्ण नाकाका रूपमा लिने गरिएको थियो ।
चीनसँगको व्यापार गर्न सोही नाका हुँदै छोटो दूरी पर्ने भएकाले त्यहाँबाट व्यापार गर्न व्यापारीहरूले अति सहज मान्दै आएका थिए । तथ्यांकमै हेर्ने हो भने पनि भन्सार विभागका अनुसार रसुवागढी नाका हुँदै चीनबाट चालु आर्थिक वर्षको जेठसम्म ८० अर्बको ८१ करोडको वस्तु आयात भएको छ । त्यस्तै सोही नाका हुँदै नेपालबाट चीनमा १९ अर्ब ६१ करोडको वस्तु आयात भएको छ ।
खासगरी चीनबाट इभि गाडी, खेलौना, लत्ताकपडा, जुत्ता, फलफूलसहितका वस्तुहरू ल्याइन्थ्यो भने चीनतर्फ चिया, पुस्तक, छापा सामग्री, हस्तकलाका सामग्रीहरू, हस्तकला र ढुंगाका मूर्तिहरू, चित्रकलाहरू, ऊन–पस्मिना तथा तिनबाट बनेका कपडाहरू, काठका सामग्रीहरू निर्यात गर्ने गरिएको छ । पुल तथा सडक नै बगाएसँगै तत्काललाई दुई देशको व्यापारमा ठुलो असर परेको छ ।
सत्यपाटी