सरकारले आन्तरिक हवाईजहाज दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई दिने क्षतिपूर्ति पाँच गुणाले बढाउने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको ‘आन्तरिक वायुसेवाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।
विधेयकमा आन्तरिक जहाज दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारले पाउने क्षतिपूर्ति रकम एक लाख अमेरिकी डलर (करिब एक करोड ३६ लाख रुपैयाँ) पुर्याउने प्रस्ताव गरिएको छ । यो हालको भन्दा पाँच गुणा बढी हो । हाल आन्तरिक उडानमा जहाज दुर्घटना हुँदा मृतकका परिवारले २० हजार अमेरिकी डलर (२७ लाख २० हजार रुपैयाँ) क्षतिपूर्ति पाउने व्यवस्था छ ।
‘दुर्घटनामा यात्रुको मृत्यु भएमा सम्बन्धित वायुसेवाले क्षतिपूर्ति बापत एक लाख अमेरिकी डलर बराबरको रकम मृत्कको सबैभ्न्दा नजिकको हकदारलाई उपलब्ध गराउनु पर्नेछ,’ प्रस्तावित विधेयकको दफा २१ (२) मा भनिएको छ ।
त्यस्तै, यात्राको क्रममा बोर्डिङ पश्चात वायुयानभित्र प्रवेश गर्ने क्रममा वा वायुयानभित्र रहँदा वा वायुयानबाट उत्रने क्रममा कुनै दुर्घटना भई चोटपटक लागेमा वा शारीरिक क्षति वा अंगभंग भएमा सम्बन्धित वायुसेवाले घटनाबाट पीडितलाई क्षतिपूर्तिबापत अवस्था हेरी अधिकतम एक लाख अमेरिकी डलरसम्मको क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेछ । साथै, घाइतेको उचित उपचारको प्रबनध मिलाउनुपर्ने व्यवस्था गरिएको छ ।
दुर्घटनमा यात्रुको मृत्यु भएमा वायु सेवा कम्पनीले मृतकको शव निजको परवारलाई हस्तान्तरण गरी मृत्यु संस्कारका लागि मनासिव माफिकको रकम पेश्की स्वरुप दिनुपर्नेछ । मन्त्रालयले सोमबार उक्त विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग सुझाव समेत मागेको छ । मन्त्रालयमा असार २७ गतेसम्म आइपुग्ने गरी लिखित रूपमा राय सुझाव पठाउन सकिने छ ।
सत्यपाटी