२०८२ फागुन ७ , बिहीबार 19, February 2026, Thursday

११ महिनामा भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब

सत्यपाटीसत्यपाटी । वीरगञ्ज । २०८२ असार २१ गते शनिबार

चालु आर्थिक वर्ष (आव)को ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल ५२ अर्ब ५८ करोड मूल्यको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा भटमासको कच्चा तेलको आयात ४५ अर्ब २१ करोड बढीले आयात भएको छ ।

जबकी गत आवको ११ महिनामा भने सात अर्ब ३७ करोड मूल्यको मात्रै भटमासको कच्चा तेल आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा यो नाका हुँदै भटमासको प्रशोधित तेल धेरै निर्यात भएको जानकारी दिए ।

उनले भने, ‘व्यवसायीले भटमासको कच्चा तेल ल्याएर प्रशोधित गरेर फेरि विदेशी मुलुकमा निर्यात गरेको देखिन्छ ।’ वीरगञ्ज नाका हुँदै चालु आवको ११ महिनामा भटमास तेल प्रशोधित निर्यात भने ५५ अर्ब तीन करोड मूल्य पर्ने २५ करोड ८८ लाख १४ हजार ७३२ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ ।

जबकी गत आवको सोही अवधिमा आठ करोड ८३ लाख मूल्य पर्ने चार लाख ६४ हजार १३८ लिटर मात्रै निर्यात भएको थियो । चालु आवको ११ महिनामा यो नाका हुँदै ९ अर्ब ७५ करोड मूल्य पर्ने सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको छ । जबकी गत आवको सोही समयमा ८ अर्ब चार करोड मूल्यको आयात भएको थियो ।

वीरगञ्ज भन्सार नाका हुँदै चालु आवको ११ महिनामा ८ अर्ब ४० करोड मूल्य पर्ने तीन करोड ८८ लाख ९५ हजार ३३९ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकी गत आवको ११ महिनाको अवधिमा ९ करोड ९४ लाख मूल्य पर्ने पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो ।

प्रकाशित मिति : २०८२ असार २१ गते शनिबार