सूचनाको शक्ति - The Power Of Information

        

उड्ने हेलिकप्टरलाई किन गुडाएर ल्याइयो ?

माउन्टेन हेलिकप्टर प्रालिले तातोपानी नाका हुँदै हेलिकप्टर ल्याएको छ । कम्पनीका महाप्रवन्धक दिलबहादुर वलीका अनुसार फ्रान्सको एयरबस कम्पनीमा निर्मित एयरबस बिथ्री हेलिकप्टर नेपाल भित्र्याएको हो । चीनमा उडान भरिरहेको होलिकप्टर कम्पनीले खरिद गरेर चीनबाटै नेपाल ल्याएको जनाएको छ ।

हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको जनाइएको छ । महाप्रबन्धक वलीले एक साताभित्र भन्सार प्रक्रिया र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर उडानसेवामा ल्याइने जानकारी दिए । ‘फ्रान्सबाट निर्मित चीनमा उडिरहेको हेलिकप्टर नेपाल ल्याइएको हो,’ उनले भने । नयाँ हेलिकप्टरसँगै कम्पनीसँग तीन हेलिकप्टर भएका छन् ।

महाप्रबन्धक वलीले आकाशबाट उडाएर ल्याउदा झण्डै दश हजार किलोमिटरको यात्रा तय गर्नुपर्ने र निकै खर्चिलो पनि हुने भएकाले सडकमार्गबाटै ल्याइएको बताए । कम्पनीले यसअघि एउटा हेलिकप्टर कलकत्ता बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाडौँ ल्याएको थियो । तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर ल्याइएको हो ।

‘हेलिकप्टरका पंखा लगायतका पार्टपूर्जा खोलेर ४० फिटे कन्टेनरमा लोड गरेर कस्टमसम्म ल्याइपुर्याएका छौं, अब त्यहीँ फिट गर्छौं अनि जाँचपास गरी उडाएर काठमाडौं ल्याउँछौं,’ भुसालले भने । उनले तातोपानी भन्सार नाका हुँदै कम्पनीले पहिलोपटक हेलिकप्टर ल्याएको बताए । ‘पहिले एउटा हेलिकप्टर कलकत्ता बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाडौं ल्याएका थियौं । तातोपानी भन्सार नाका हुँदै हेलिकप्टर ल्याएको पहिलोपटक हो,’ उनले भने ।

तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालले पनि आफूले पहिलोपटक तातोपानी नाकाबाट हेलिकप्टर आयात भएको थाहा पाएको बताए । ‘मेरो जागिरको अनुभवमा तातोपानी नाकाबाट पहिलोपटक हेलिकप्टर जाँचपास हुने प्रक्रियामा छ,’ उनले भने, ‘एक प्रतिशत ड्युटी र १३ प्रतिशत भ्याट लिएर जाँचपास हुन्छ ।’ चीनबाट नेपाल भित्रिने प्रमुख दुईवटा नाका छन् । एउटा तातोपानी र अर्को टिमुरे ।

टिमुरेको बाटो साँघुरो र अप्ठेरो भएकाले हेलिकप्टर ल्याउनलाई तातोपानी नाका रोजेको कम्पनीले जनाएको छ । ‘अर्को विकल्प हामीसँग समुद्री बाटोबाट कलकत्ता बन्दरगाह हुँदै ल्याउने थियो । तर त्यो बाटो प्रयोग गर्दा झण्डै एक महिना लाग्ने भयो । तर चीनको बाटो हुँदै तातोपानी भन्सार नाकाबाट ८–१० दिनमै ल्याउन सकिने भएकाले हामीले यही बाटो रोज्यौं,’ कर्पोरेट म्यानेजर भुसालले भने । उक्त हेलिकप्टर जाँचपास पछि माउन्टेन फ्लाइटमा प्रयोग गर्ने भुसालले बताए । उनका अनुसार माउन्टेन कम्पनी प्रालिसँग यो नयाँ हेलिकप्टरसहित तीनवटा हेलिकप्टर हुनेछन् ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार १४:२०