नेपाल विद्युत प्राधिकरणको नेतृत्वबाट केही महिनाअघि हटाइएका कुलमान घिसिङले खाडी मुलुकहरूको भ्रमण गरेर त्यहाँ कार्यरत नेपालीहरूको जीवन, संघर्ष र सपना बुझ्न प्रयास गर्ने भएका छन् ।
मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बहराइन, ओमान, युएई र कतारमा रहेका नेपालीहरूको जीवन, संघर्ष र सपना बुझ्ने तथा आफ्ना अनुभवहरू साटासाट गर्ने प्रयासस्वरूप आफू भ्रमणमा निस्किएको जानकारी गराएका हुन् ।
‘विदेशी भूमिमा पसिना बगाउँदै देशको सपना बोकेर बस्नुभएको तपाईंहरुलाई म टाढाबाट होइन, नजिकबाट सम्झन आउँदैछु,’ उनले फेसबुकमा भनेका छन्, ‘मैले बहराइनमा जुलाई २ देखि ४, युएईमा जुलाई ५ देखि ८, ओमानमा जुलाई ९ देखि १० र कतारमा जुलाई ११ देखि १३ सम्म तपाईसँग भेटघाट गर्दैछु ।’
उनले नेपालीहरूको दुःख, आत्मबल र योगदानको मूल्य शब्दले भन्न नसकिने उल्लेख गर्दै भनेका छन्, ‘म तपाईंहरूसँग प्रत्यक्ष भेटेर भोगाइ सुन्न, अनुभूति साझा गर्न र भावनात्मक रूपमा जोडिन चाहन्छु । तपाईंहरूले जे सहनुभएको छ, त्यसमा हामी सबैको जिम्मेवारी छ भन्ने भावनासहित तपाईंहरू सामु आउँदैछु ।’ उनले भ्रमणबारे थप विषय भने खुलाएका छैनन् ।
उनले थप लेखेका छन्, ‘देशले तपाईंहरूलाई सम्झिएको छ, तपाईंहरूको अभावमा पनि तपाईंहरूका घर, परिवार र देश तपाईंप्रति गर्व गर्छन् । जहाँ हुनुहुन्छ, सुरक्षित, अनुशासित र सकारात्मक रहनुहोस् । तपाईंहरूको माया, प्रेम, विश्वास, सुझाव र साथ सधैं अमूल्य रहनेछ ।’
सत्यपाटी संवाददाता । काठमाडौं