सूचनाको शक्ति - The Power Of Information

        

ध्रुवीकृत बन्दै एमाले, १९ पदाधिकारीमध्ये सात जनामात्रै ओली क्याम्पमा !

नेकपा (एमाले)को आन्तरिक राजनीति १४ असारपछि तीव्र रूपमा ध्रुवीकृत बन्दै गएको छ । पूर्वराष्ट्रपति एवं एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने संकेत गरेपछि पार्टीभित्रको शक्ति सन्तुलन पुनः तरल बन्न थालेको छ । भण्डारीको सक्रियतासँगै नेताहरूको समूहगत झुकाव स्पष्ट बन्दै गएको छ ।

१४ असारको कार्यक्रममै अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारी पक्षधर पदाधिकारीहरू छुट्टाछुट्टै लाइनमा देखिए । अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र भण्डारीले दिएका अभिव्यक्तिहरूले पार्टीभित्र दुई धारको स्थिति प्रस्ट पारिदिएको एमाले नेताहरू बताउँछन् । एमाले पदाधिकारीहरू १९ जना छन् ।

तीमध्ये नौं जना भण्डारी समूहमा, सात जना ओली समूहमा खुलेर देखा परेका छन् भने दुई जना अझै खुला रूपमा कुनै धारमा उभिएका छैनन् । सचिव टोपबहादुर रायमाझी भने निलम्बनमा छन् । भण्डारी समूहको नेतृत्व अहिले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्हाल्ने संकेत देखिएको छ । पोखरेलले ओली लाइनलाई खुलेरै चुनौती दिइरहेका छन् ।

पार्टी उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य भण्डारीसँगै उभिने सम्भावना उच्च देखिन्छ । यी सबै नेता अघिल्लो पार्टी विभाजनताका माधव नेपालसँग जान नचाहे पनि ओली नेतृत्वप्रति सधैं सशंकित देखिएका थिए । उनीहरू पार्टी विधानमा भएको ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमाबद्धताको पक्षमा छन्, जुन कुरा ओलीका लागि बाधक बन्न सक्छ ।

यही कारण उनीहरूको झुकाव भण्डारीतर्फ हुने आँकलन गरिएको हो । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पनि भण्डारीनिकट हुने अनुमान छ । उनलाई मन्त्री बनाउँदा पनि भण्डारीको सिफारिस भूमिका रहेको चर्चा पहिले नै चलेको थियो । सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा र रघुवीर महासेठसमेत भण्डारीसम्बद्ध भएको चर्चा भए पनि कतिपयले प्रष्ट धार भने सार्वजनिक गरेका छैनन् ।

भट्टराई संस्थापन पक्षमै देखिएका छन् भने विष्ट र विश्वकर्मा मौन छन् । महासेठलाई पहिला ओलीनिकट मानिए पनि उनी वामदेव गौतमसँग बढी नजिक रहँदै आएका थिए । गौतम ओली पक्षमा लाग्नु अघि नै महासेठले उनसँग दूरी बनाएको नेताहरू बताउँछन् । ओली पक्षमा खुलेर उभिएका नेताहरूमा उपाध्यक्ष रामबहादुर थापा, गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।

विशेषगरी महासचिव पोखरेलले भण्डारीको राजनीतिक पुनरागमनको खुला आलोचना गर्दै आएका छन् । काठमाडौंमा भण्डारी सक्रिय राजनीतिमा फर्किने घोषणा गरिरहँदा उनी पोखरामा त्यसको विरोध गर्दै थिए । पार्टी सचिवालयको अघिल्लो बैठकमा पोखरेलले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा रोक लगाउने गरी विधानमै संशोधनको प्रस्ताव समेत गरेका थिए । सचिव पद्मा अर्याल पनि ओली समूहकै मानिन्छिन् ।

यद्यपि, पहिले उनलाई भण्डारीनिकट भनिएको थियो ।उपाध्यक्ष विष्णु पौडेल र सचिव लेखराज भट्ट भने अझै मौन छन् । पौडेललाई केही समयअघि भण्डारीसम्बद्ध बताइए पनि अर्थमन्त्री बनेपछि उनी सार्वजनिक रूपमा निष्क्रिय छन् । यस्तो अवस्थामा एमालेभित्रको आगामी राजनीतिक दिशा र सम्भावित गुटीय संघर्षले पार्टीको सांगठनिक एकता र भविष्यलाई गहिरो असर पार्ने संकेत देखिएको छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतवार १५:५६