सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा नेपाल

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर २०८१ असारमा बनेको गठबन्धनको साथ छाड्न थालेको छ । अध्यक्ष यादवले यसअघि लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

यादवले मंगलबार भक्तपुरमा घोषणा गरेअनुसार जसपाले केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने प्रक्रिया थालेको थियो । त्यही अनुसार लुम्बिनीमा मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन जसपाले फिर्ता लिएको हो ।

जसपा नेपाल लुम्बिनी प्रदेश संसदीय दलका नेता अम्बिका काफ्लेले केन्द्रको निर्देशन अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको जानकारी दिइन् । उनले काफ्लेले असफल सरकारलाई समर्थन दिइराख्नु आवश्यक नदेखेपछि समर्थन फिर्ता लिइएको बताइन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा जसपा नेपालबाट काफ्ले एकमात्र सांसद छिन् । उनले भनिन्, ‘लुम्बिनी सरकार चौतर्फी रुपमा असफल भइसक्यो । फेलियर सरकारलाई समर्थन गरिराख्नु उचित नभएपछि समर्थन फिर्ता लिएका हौँ ।’

नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भएबमोजिम मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गराएकी हुन् ।

पार्टी विभाजनपछि अन्य सांसदहरू अशोक राई नेतृत्वको जसपामा सामेल भएका थिए । जसपा नेपालले संघमा पनि ओली नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेको थियो। त्यही निर्णय अनुसार जसपाले प्रदेशश सरकारबाट समर्थन फिर्ता लिन थालेको हो ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादवले नेपाली कांग्रेस–नेकपा एमाले नेतृत्वको वर्तमान गठबन्धनको औचित्य समाप्त भएको भन्दै आफ्नो दलले समर्थन दिएर गल्ती गरेको भन्दै पछुतो व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार १७:२७