असार लागेसँगै नेपालले दैनिक न्यूनतम साढे १० करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गर्न थालेको छ । अघिल्लो साता मनसुन सक्रिय भई वर्षा हुँदा जलप्रवाह बढेपछि विद्युत् निर्यात पनि बढेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
देशभित्र खपत भएर बाँकी भएको विद्युत् निर्यात गर्दा पनि यो परिमाणमा विद्युत् निर्यात भएको हो । असार १ गतेदेखि नेपालले बङ्गलादेशमा दैनिक ४० मेगावाट, भारतको विहार राज्यमा १२५ मेगावाट र हरियाणा राज्यमा दुई सय मेगावाट विद्युत् नियमित निर्यात गर्दै आएको छ ।
यसबाहेक दैनिक बोलकबोलमार्फत इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स)मा विद्युत् निर्यात हुने गरेको छ । प्राधिकरणको लोड डिस्प्याच सेन्टरको पछिल्लो तथ्याङ्क अनुसार गएको शनिबार मात्रै नेपालबाट २४ घण्टामा १५ हजार ९१८ मेगावाट विद्युत् निर्यात हुँदा १० करोड ७१ लाख रुपियाँ आम्दानी भएको छ । यो आँकडा बङ्गलादेश निर्यातसमेतको हो ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार आन्तरिक खपत पूरा गरेर बाँकी भएको विद्युत् निर्यात गर्दा यो परिमाणमा निर्यात सम्भव भइरहेको छ । आगामी दिनमा विद्युत् उत्पादन र खपतको अवस्था अनुसार निर्यात अझै बढ्दै जाने सम्भावना छ । बङ्गलादेशमा प्रतियुनिट ६.४ अमेरिकी सेन्टमा विद्युत् निर्यात भइरहेको छ ।
विहारको निर्यातमा नेपालको विद्युतबाट प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा मूल्य प्राप्त भइरहेको छ भने उत्तर प्रदेशको दर पनि सोही हाराहारीमा छ तर अहिले आइइएक्समा नेपालको विद्युत्ले राम्रो मूल्य नपाइरहेको आँकडाले देखाउँछ ।
आइइएक्समा तीनदेखि चार रुपैयाँमै पनि विद्युत् निर्यात गर्नु परिरहेको तथ्याङ्क छ । सबैखाले विद्युत् निर्यातको प्रतियुनिट दर अहिले करिब ६ रुपैयाँ ७० पैसा रहेको छ । नेपालले बङ्गलादेशमा पाँच महिनामा ४० मेगावाटका दरले विद्युत् निर्यात गर्दा कुल एक अर्ब २५ करोड रुपैयाँ प्राप्त गर्ने प्राधिकरणले जनाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं