सूचनाको शक्ति - The Power Of Information

        

मेटमणि चौधरीविरुद्ध बैङ्किङ कसुरमा जाहेरी

नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी परेको छ । दाङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद चौधरीविरुद्ध ५ करोड ४० लाख रुपैयाँको चेक बाउन्स भएको दाबी गर्दै जाहेरी परेको हो ।

पाँच करोड रुपैयाँभन्दा बढी रकमको दाबीसहित परेको जाहेरी कसले दिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय दाङमा हुलाकबाट प्राप्त जाहेरी अझै दर्ता भएको छैन र हाल अध्ययनकै चरणमा रहेको प्रहरीले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुनप्रसाद तिमल्सिनाले हुलाकमार्फत जाहेरी आएको छ, तर दर्ता नभएको बताएका छन् । ‘हुलाकबाट जाहेरी आएको हो, तर त्यसको सत्यता पुष्टि गर्ने प्रक्रिया बाँकी छ । अहिले आफूले जाहेरीका विषयमा अध्ययन गरिरहेको छु,’ उनले भने ।

एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका चौधरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । प्रहरी स्रोतका अनुसार, उजुरी प्राप्त भएको भए पनि आवश्यक प्रारम्भिक अध्ययनपछि मात्र थप प्रक्रिया अघि बढाइनेछ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार १७:१८