राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र ८२ दिनपछि सामाजिक सञ्जाल फेसबुकमा फर्किएका छन् । मिश्रले बिहीबार आफू ८२ दिनपछि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको भन्दै राज्यले प्रतिशोध साँध्ने भरमग्दुर प्यास गर्दागर्दै पनि जिल्ला अदालत काठमाडौँले आफूलाई न्याय दिएको बताएका छन् ।
साथै उनले ५० दिनको हिरासत बसाईमा ३५ वटा कविता लेखेको र ती सामाजिक सञ्जालमा प्रकाशित गर्दै जाने बताएका छन् । २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शित प्रदर्शनपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ५० दिन हिरासत बसेका छन् । त्यस बीचमा उनले ३५ वटाभन्दा बढी कविता लेखेका छन् ।
‘५० दिनको हिरासत बसाइमा ३५ वटाभन्दा बढी कविता लेखेको रहेछु । तीमध्यै कुनै–कुनै सामाजिक सञ्जालमा प्रेषित गर्ने नै छु,’ उनले आज फेसबूकमा लेखेका छन् । उनले अब आफू पहिलेजस्तै सबैको सम्पर्कमा रहने पनि बताएका छन् । राजनीतिक नेतृत्वले आफूविरुद्ध प्रतिशोध साँधे पनि न्यायालयले आफूलाई न्याय दिएको उनले लेखेका छन् ।
‘राजनीतिक नेतृत्वले प्रतिशोध साँध्न भरमग्दुर प्रयास गर्दागर्दै पनि अस्ति जिल्ला अदालत, काठमाडौंले मलाई न्याय दिएको छ, यद्यपि लामो कानूनी प्रकृया बाँकी नै छ । केही समयअघि बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले त्यसैगरी न्याय दिएको थियो । म न्यायलयप्रति आभारी छु । निर्दोषहरूले न्याय पाउने नैसर्गिक अधिकारमा राजनीतिको छाया कहिल्यै नपरोस् । न्यायलय सदा स्वतन्त्र रहोस्, यही कामना गर्दछु,’ उनले लेखेका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं