रुकुम पश्चिमका दुई हजार भूकम्प प्रभावितले भूकम्प गएको १९ महिना पूरा हुँदासम्म पनि अस्थायी आवास (टहरा) निर्माणको पहिलो किस्ताको रकम नआएको गुनासो भइरहेको छ । २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट घर क्षति भएका दुई हजार एक जना प्रभावितले अझैसम्म पनि टहरा निर्माणको रकम पाएका छैनन् ।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका संयोजक कुलबहादुर जिसीका अनुसार मुसीकोट नगरपालिकाका एक हजार ३५६, त्रिवेणी गाउँपालिकाका २४३ र बाँफीकोट गाउँपालिकाका ४०२ जना भूकम्प प्रभावितले टहरा निर्माणको रकम पाएका छैनन् । उनीहरूलाई टहरा निर्माण पहिलो र दोस्रो किस्ताबापत १० करोड ५० हजार रुपियाँ आवश्यक रहेको छ ।
जिल्लामा ३४ हजार ९९७ लाभग्राही रहेका छन् । जसमध्ये ३२ हजार ९९६ जनाले पहिलो किस्ता र ३१ हजार ८८१ लाभग्राहीका लागि रकम निकासा पठाइसकिएको छ । लाभग्राही कायम भएकामध्ये दुई हजार एक जनाको फाइल तोकिएको मितिमा आउँदा पनि विपत् पोर्टलमा समावेश हुन छुटेकाले टहरा निर्माणको रकम नआएको बताइएको छ । भूकम्पका कारण रुकुम पश्चिममा मात्र ५३ जनाको मृत्यु भएको थियो भने ४०७ जना घाइते भएका थिए ।
२६८ वटा विद्यालयमा क्षति भएको थियो भने बालबालिका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, दीर्घरोगी र अपाङ्गता भएका व्यक्तिसमेत गरेर २५ हजार ५८४ जनसङ्ख्या प्रभावित भएको थियो । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति रुकुम पश्चिमको तथ्याङ्क अनुसार १२ वटा प्रहरी कार्यालयमा क्षति भएको थियो भने ४० करोड १० लाख बराबरको सडक क्षति भएको थियो ।
सत्यपाटी संवाददाता । रुकुम पश्चिम