२०८२ फागुन ७ , बिहीबार 19, February 2026, Thursday

अखिलको नेतृत्व सर्वसम्मत गर्ने एमालेको प्रयास असफल

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ जेठ २७ गते मंगलबार

नेकपा (एमाले) ले ३२ वर्षे उमेर हद लगाएर नेताहरूको एउटा पंक्तिलाई पाखा लगाएर कीर्तिपुरमा भइरहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) महाधिवेशनले निर्वाचनबाटै नेतृत्व छान्ने निश्चित भएको छ ।

एमालेले ३२ वर्षे उमेर हद लगाएपछि भइरहेको निर्वाचनमा सर्वसम्मत नेतृत्व छान्ने कोसिसमा एमाले थियो । त्यही अनुसार महाधिवेशन हलमा निर्वाचन कमिटीले अध्यक्ष र महासचिवसहितको नाम सुनाएपछि विद्यार्थीहरू विरोधमा उत्रिएका थिए ।

विद्यार्थीहरूले चर्को विरोध गर्दै निर्वाचनमा जानुपर्ने माग गरेपछि एमालेले बुधबारका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र जनसंगठन समन्वय संयन्त्र संयोजक भानुभक्त ढकालले निर्वाचनमा जान नदिई सर्वसम्मत नेतृत्व छान्न हस्तक्षेप गरेपछि नाराबाजी भएको थियो ।

बन्द सत्रमा अध्यक्ष मण्डलले सर्वसम्मति भन्दै एमाले नेता ढकालले अध्यक्षमा डा.सुजन कडरिया, उपाध्यक्ष प्रकाश पौडेल र अन्जना शिवाकोटी साथै महासचिव दीपक धामीको नाम प्रस्ताव गरेका थिए । तर सहमति नजुटेपछि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो ।

यसअघि एमाले अध्यक्ष ओली र महासचिव पोखरेलले समेत अनेरास्ववियुको नेतृत्व सर्वसम्मत चयन गर्न निर्देशन दिएका थिए । तर, अध्यक्षका दाबेदार प्रकाश पौडेल र दीपक धामी पक्षले चुनावको नाराबाजी गरे । टाँसिएको कार्यतालिका अनुसार उम्मेदवारको दर्ता फारम मंगलबार ३ देखि ५ बजेसम्म वितरण गर्ने, ४ देखि ६ बजेसम्म दर्ता गर्ने उल्लेख छ ।

मतदान भोलि बिहान १० बजेदेखि ५ बजेसम्म हुने उल्लेख छ । ३२ वर्षमुनिका मात्रै महाधिवेशनमा सहभागी भए पनि एमाले नेतृत्वले हस्तक्षेप गरेर सर्वसम्मत नेतृत्व चयन गर्न खोजेपछि कीर्तिपुरस्थित अनेरास्ववियुको महाधिवेशनस्थलमा चर्को नाराबाजी हुँदा अब निर्वाचन गर्नुपर्ने भएको छ ।

२४ औँ महाधिवेशनको बन्दसत्रको कार्यक्रम अन्तर्गत मंगलबारबाट निर्वाचन प्रक्रिया सुरू हुँदै गर्दा एमाले नेतृत्वले सर्वसम्मतका लागि हस्तक्षेप गरेको थियो । सर्वसम्मतबाटै नेतृत्व तय गर्न निर्वाचन कमिटीलाई निर्देशन दिएपनि विद्यार्थीहरूले त्यसको अवज्ञा गर्ने चेतावनी दिँदै नाराबाजी गरेपछि एमाले प्रतिस्पर्धाको विकल्पमा जान बाध्य भएको हो ।

विद्यार्थीहरूले ‘वी वान्ट इलेक्सन’, ‘वी वान्ट इलेक्सन’ सहितका नारा लगाएका थिए । उनीहरूले सर्वसम्मतका नाममा निर्वाचनलाई निषेध गर्ने निर्णयलाई कुनै हालतमा अस्वीकार गर्ने चेतावनी दिएपछि निर्वाचन तालिका टाँसिएको छ ।

आइतबारबाट सुरू भएको महाधिवेशनको बन्दसत्रले संगठनको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन समूहगत छलफल गरी पास गरेको थियो । महाधिवेशनको अध्यक्ष मण्डलका सदस्य एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले मंगलबार बिहान बन्दसत्रको बैठक सुरू गरेर निर्वाचन प्रक्रिया अघि बढाउने बताएका थिए ।

तर एमाले नेतृत्वले निर्वाचनमा जान नदिई सर्वसम्मतको कोशिष गरेपछि विद्रोह हुँदा युवा संघमा जस्तै निर्वाचन गर्नुपर्ने भएको हो । महाधिवेशनको हलले १५१ सदस्सीय केन्द्रीय कमिटी, ९ जना पदाधिकारी र ३२ वर्षे उमेर हदलाई यसअघि नै अनुमोदन गरेको थियो ।

प्रकाशित मिति : २०८२ जेठ २७ गते मंगलबार