२०८२ माघ २५ , आइतबार 9, February 2026, Monday

ओलीमाथि भण्डारीको कटाक्ष, ‘म जिल्ला जाँदा एमालेलाई सोध्नुपर्दैन’

सत्यपाटीसत्यपाटी । विराटनगर । २०८२ जेठ २७ गते मंगलबार

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू जिल्ला भ्रमणमा जाँदा नेकपा एमालेलाई सोध्नु नपर्ने बताएकी छन् । आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले यस्तो बताएकी हुन् । तपाईं पूर्व आउँदा काठमाडौंतिर किन भुइँचालो जान्छ भनेर सञ्चारकर्मीले प्रश्न गर्दा भण्डारीले पूर्वमा आफू दुईवटा कार्यक्रमको सन्दर्भमा आएको बताइन् ।

भण्डारीले भनिन्, ‘पूर्वमा म दुईवटा कार्यक्रमको सन्दर्भमा आएको हो । पालिकाका उपप्रमुख र उपाध्यक्षहरूको राष्ट्रियस्तरको कार्यक्रम थियो, त्यसको सन्दर्भमा म आएको हुँ । अर्को चाहिँ हाइस्कुलका विद्यार्थीहरुले विज्ञान प्रदर्शनी गरेका थिए । मलाई पनि रुचि थियो उहाँहरूले बोलाउनुभयो र आएँ । चिनजान ठूलै छ, समाजका अरुअरु क्षेत्रहरूमा पनि चिनजान हुन्छ । जनताको आकांक्षा बुझ्न म लागेको छु । म देशभित्र घुमफिर गर्न एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्दैन ।’

केही समययता भण्डारी देशविदेश भ्रमण गरिरहेकी छन् । उनी राजनीतिमा फर्किने चर्चा छ र यसलाई उनी आफैंले पनि नकारेकी छैनन् । राष्ट्रपति हुनुअघि उनी एमाले उपाध्यक्ष थिइन् । अब उनी एमाले अध्यक्ष बन्ने ध्याउन्नमा रहेको बताइन्छ । एमाले अध्यक्ष केपी शर्मा ओली भण्डारीको सक्रियताले सशंकित छन् । हिजोमात्रै काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले महाधिवेशनको मिति नै घोषणा नभएको बेलामा भ्रमको पछि नलाग्न आग्रह गरे ।

फलाना आउने अरे भन्दै फिँजाइएका भ्रममा विश्वास नगर्न उनले आग्रह गरे । गुट नै बनिसकेको भन्दै प्रचार गरिएको उल्लेख गर्दै उनले गुटको कुरा गर्नेहरूको प्रतिकार गर्न कार्यकतालाई निर्देशन दिए । पूर्वराष्ट्रपति भण्डारीको बारेमा पार्टीमा कुनै छलफल नै नभएको बताउँदै ओलीले महाधिवेशन घोषणा पनि नभएको र महाधिवेशनमा के गर्ने भन्ने सरसल्लाह नै नभएको जिकिर गरे ।

प्रकाशित मिति : २०८२ जेठ २७ गते मंगलबार