सूचनाको शक्ति - The Power Of Information

        

ओलीको निर्देशनमा मविरुद्ध मुद्दा लगाइयो : माधव नेपाल

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूले कुनै निर्णय नगरेको बताएका छन् । पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि अध्यक्ष नेपालले रौटहटमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पतञ्जली जग्गा प्रकरणमा आफूले कुनै निर्णय पनि नगरेको र आदेश पनि नदिएको बताएका हुन् ।

उनले भने, ‘म कसैमाथि पनि आरोप लगाउन चाहन्न । आरोप लगाउनु उचित हुँदैन । तर म आफै पनि कुनै पनि नियतबाट लाभ उठाएर, भ्रष्टाचार गरेर, कुनै पनि आदेश दिने काम मबाट भएको छैन । त्यस्तो कुराको म विरोधमा छु ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीतिक करियर समाप्त पार्ने कोशिस गरेको आरोप लगाएका छन् ।

‘केपी ओलीकै निर्देशनमा मुद्दा दर्ता भएको मान्नुहुन्छ ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष नेपालले भने, ‘सिधा कुरा हो, उहाँ मेरोविरुद्धमा सुरुदेखि लाग्नु भएको पनि हो । मेरो राजनीतिक करियरलाई समाप्त पार्ने उहाँको नियतै हो । पहिले पनि यस्तो किसिमको कोशिस पटक–पटक गर्नुभएको हो । उहाँ बदलाको भावनाबाट चल्ने मान्छे हो । ’ उनले अबको प्रक्रिया जे जसरी अगाडि बढ्छ त्यसको सामना गर्ने बताए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहीबार १७:०३