सूचनाको शक्ति - The Power Of Information

        

माधव नेपालले भने, ‘मैले आजसम्म भ्रष्टाचार गरेको छैन’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको बताएका छन् । पार्टी कामको सिलसिलामा रौतहटमा रहेका नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै आफूले कसैबाट अनुचित लाभ नउठाएको बताएका हुन् ।

उनले भने, ‘म राष्ट्रलाई नोक्सान पर्ने कुनै पनि कामको विरुद्धमा रहन्छु । कसैबाट भएको छ भनेर उचित होइन भनेर दृढताका साथ उभिएको छु । त्यहाँ मैले नै निर्देशन दिएँ भनेर लेखिएको छ । मैले मन्त्रीलाई यस्तो कुनै अनुचित काम गर्न आजसम्म निर्देशन दिएको छैन । त्यसको प्रमाण पेस गरियोस् ।’

उनले आफू सधैं सुशासनको पक्षमा अडिग रहेकाले कसैले भ्रष्टाचारी सिद्ध गर्न नसक्ने भन्दै कार्यकर्तालाई निराश नहुन आग्रह गरेको एक जिल्ला नेताले बताए । उनले थपे, ‘मैले अनुचित उद्देश्यका साथ केही गरेको छैन ।’

अध्यक्ष नेपालले काभ्रेस्थित पतञ्जलि योगपीठ नेपाललाई हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णयमा आफूले कुनै भ्रष्टाचार नगरेको र कुनै मन्त्रीलाई अनुचित निर्देशन नदिएको दाबी गरेका छन् । उनले त्यस्तो कुनै प्रमाण भए पेस गर्न चुनौती दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेपछि बिहीबार गृह जिल्ला रौतहटमा पहिलोपटक सार्वजनिक रूपमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । अध्यक्ष नेपालले आफूले एक पैसा पनि भ्रष्टाचारको निम्ति नलिएको र कसैबाट अनुचित लाभ नउठाएको दाबी गरे ।

उनले राष्ट्रलाई नोक्सान पुग्ने कुनै पनि कामको आफू सधैं विरुद्धमा रहने दृढता व्यक्त गरे । अख्तियारको अभियोगपत्रमा मन्त्रीलाई निर्देशन दिएको भन्ने आरोपबारे उनले भने, ‘मैले कुनै पनि मन्त्रीलाई यस्तो अनुचित काम गर्न आजसम्म निर्देशन दिएको छैन । त्यो प्रमाण पेस गरियोस् ।’ उनले दबाब दिने कुरा त परै जाओस्, निर्देशन समेत नदिएको जिकिर गरे ।

पतञ्जलि योगपीठसँग सम्बन्धित जग्गा प्रकरणबारे थप स्पष्ट पार्दै अध्यक्ष नेपालले त्यस्ता संस्थाहरूमा स्वामी रामदेव र आचार्य बालकृष्णजस्ता व्यक्तित्वहरू संलग्न रहेको र नेपालमा योगको प्रचारप्रसार तथा आयुर्वेद औषधिहरूको उत्पादन होस् भन्ने सकारात्मक उद्देश्यले निर्णय लिइएको बताए । असल नियतका साथ लाग्ने कुरामा आफ्नो साथ, सहयोग र समर्थन रहन्छ ।

‘तर त्यो गर्दाखेरि पनि नियम, कानुन, विधिको सम्मान गर्नुपर्छ, पालन गर्नुपर्छ,’ उनले थपे, ‘कुनै सरकारी जग्गा अनुचित रूपमा दिइएको छैन । यदि कुनै प्रक्रियागत त्रुटि भएको वा आवश्यकताले गर्दा हदबन्दीभन्दा माथिको जग्गाको विषय आएको भए पनि, र त्यो उचित छैन भने, ती जग्गाहरू सबै फिर्ता लिन सकिन्छ । त्यसको निम्ति कुनै अपराध गरेको, बद्मासी गरेको, नियत खराब भएको रूपमा लिनुहुँदैन ।’

अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहीबार १५:४८