तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलसम्शेर राणा हालसम्म सम्पर्कमा नआएपछि जिम्मा जमानी लिएका वकिललाई जरिवाना गरिएको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी तथा प्रवक्ता अपीलराज बोहराका अनुसार दुवै नेता हाजिरी जमानीमा छुटेपछि अदालती प्रक्रिया अनुसार उपस्थित नहुँदा उनीहरूका वकिललाई जनही ५०–५० हजार रुपैयाँ जरिवाना तिराइएको हो । ‘हाजिरी जमानीमा लिई छाडिएपछि उनीहरूलाई अदालतमा उपस्थित गराउन नसकेकाले वकिललाई जरिवाना गरिएको हो,’ एसपी बोहराले जानकारी दिए ।
मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ अनुसार हाजिरी जमानीमा छुटेका व्यक्ति तोकिएको समयमा उपस्थित नभएमा जमानी लिने व्यक्तिलाई जरिवाना गर्न सकिने प्रावधान अनुसार अनुसन्धान अधिकृतले जरिवाना तोकेका हुन् । गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शन हिंसात्मक बनेपछि मिश्र र राणालाई प्रहरीले पक्राउ गरेको थियो ।
मिश्रलाई हिरासतमा लिएपछि उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । अदालतको आदेशपछि जेठ २ गते मिश्रलाई वकिलको जिम्मा लगाएर छाडिएको थियो भने राणा ७ वैशाखमै उपचारको कारण देखाएर छुटेका थिए ।
सत्यपाटी संवाददाता । काठमाडौं