सूचनाको शक्ति - The Power Of Information

        

विचार

‘बालिकालाई यौन दुराचारबाट बचाउन परिवार नै सजग हुनुपर्छ’

किशोरीहरूलाई आफ्नै उमेरका काकाका छोरा, मामा, दाजु, भाइहरूले पनि माया गर्ने निहुँमा अँगालो मार्ने, गालामा म्वाई खानेजस्ता यौन क्रियाकलापहरू गरेका हुन्छन् ।

दुई वर्षअघि काठमाडौं नजिकैको एक जिल्लाबाट खबर आयो, ‘१२ वर्षकी किशोरीलाई उनका ठूलोबुबाले बलात्कार गरे ।’ ती किशोरीका बुबा थिएनन्, आमा र छोरी ठूलोबुबाको घरमा बस्थे । ठूलोबुबाले बलात्कार गर्लान् भन्ने बालिकाले सोचेकी थिइनन् । ठूलोबुबाले अँगालो हालेर म्वाई खाँदा उनी खुसी नै हुन्थिन् । तर एक दिन घरमा कोही नभएका बेला बालिकालाई बलात्कार गरे ।

आमाले थाहा पाइन् र पुलिसमा खबर गरिन् । तर ती किशोरी त मानसिक रोगीजस्तै भइन् । त्यो थाहा पाएर हामीले उनलाई ‘अन्तरदृष्टि’ नामक संस्था काठमाडौंमा ल्यायौं । उनको मन र शरीरको उपचार गरेपछि उनी अहिले पढ्दै छिन् । ठूलोबुबा जेलमा छन् । मानसिक रोग विशेषज्ञ डा.विश्वबन्धु शर्मा भन्छन्, ‘स्कुलमा शिक्षकहरूले, घरमा बुबा वा दाजुका साथीहरू वा काकाहरूबाट यौन दुव्र्यवहार हुँदा कति जना बालिका र किशोरीहरूले पहिले त डराएर आमा वा बज्यैलाई भन्दैनन् ।’

प्रायः हाम्रो समाजमा घरका मानिसले घरका दिदीबहिनी वा भतिजीलाई यौन दुव्र्यवहार गर्दैनन्, उनीहरूको बीचमा पवित्र सम्बन्ध हुन्छ भन्ने भावना पाइन्छ । तर यस्ता समस्याहरू बारम्बार समाजमा देखिएका छन् । सबै घरमा यस्ता समस्या हुन्छन् भन्ने होइन तर बालिका र किशोरीहरूलाई यौन दुव्र्यवहार घरका मानिसबाट र रगतको नाताबाट पनि हुन सक्छ । यस्तो सम्बन्ध हुँदा कति किशोरीहरू गर्भवती भएर स्त्री रोग विशेषज्ञकहाँ आएका पनि छन् ।

मेरी स्त्री रोग विशेषज्ञ साथीले यस्तै एक घटना सुनाएकी थिइन्, ‘केही महिनाअघि मकहाँ १५ वर्षकी किशोरीलाई गर्भपतन गर्न ल्याइयो । उनको पाँच महिनाको गर्भ रहेछ ।उनकी दिदीले ल्याएकी थिइन् । दिदीलाई बाहिर पठाएर मैले किशोरीसँग कुराकानी गरें । त्यसपछि थाहा भयो, उनकी फुपूका श्रीमानले ती किशोरीलाई बलात्कार गर्दा रहेछन् । बाहिरबाट फुपाजुले ती किशोरीलाई निकै माया गरेको देखाउने र घरका मानिसले पनि ‘ऊ त फुपा र फुपूको छोरी नै भई’ भन्दारहेछन् ।

किशोरी ‘फुपाजुले बलात्कार गर्यो भनेर कसैलाई भन्यो भने पक्कै विश्वास गर्ने छैनन्’ भन्ने ठानेर सबै कुरा सहेर बसिन् । केहीअघि उनको महिनावारी रोकियो । तर ‘यस्तो त भई नै रहन्छ बढ्दो उमेरमा’ भनेर आमाले नै भनेपछि उनी चुप लागिन् । पछि उनको गर्भ रहेको कुरा आमा र दिदीलाई थाहा भयो । किशोरीले रुँदै भनेकी थिइन् । तर उनले उल्टै गाली खाइन् । घरका व्यक्तिले आफ्नो इज्जत बचाउन कसैलाई खबर नगरेर उनको गर्भपतन गर्न ल्याएका रहेछन् ।

अनि मैले दिदीलाई बोलाएर यस्तो घटना त पुलिसमा खबर गर्नुपर्ने भन्दा दिदीले चाहिँ ‘समाजमा इज्जत जाने र ती किशोरीको पनि जीवन बर्बाद हुने भएकाले पुलिसलाई खबर नगर्ने र जसरी भए पनि गर्भपतन गराइदिन’ आग्रह गरिन् । अनि मैले गर्भपतन गरिदिएँ ।’ बालबालिकाहरू कतिपय अवस्थामा आफूलाई के गरिरहेका छन् भन्ने कुरा नै बुझ्न सक्दैनन् । उनीहरूले सायद कसैले चिमोटेको, गालामा यौनको दृष्टिकोणले म्वाई खाएको आदि भन्न सक्दैनन् । त्यसैले बालिकाहरूलाई घरका ठूला व्यक्तिले विशेष सुरक्षा दिनुपर्छ ।

किशोरीहरूलाई आफ्नै उमेरका काकाका छोरा, मामा, दाजु, भाइहरूले पनि माया गर्ने निहुँमा अँगालो मार्ने, गालामा म्वाई खानेजस्ता यौन क्रियाकलापहरू गरेका हुन्छन् । यदि किशोरीहरूलाई पहिले नै यसका बारेमा ज्ञान भयो भने यस्ता घटना कम हुन सक्छन् । घरका बाबु वा आमाले कसैले उनलाई ‘अभद्र व्यवहार गरेमा, उनको शरीरको कुनै पनि भाग छोएमा, चुम्बन गरेमा वा बलात्कार गर्न कोसिस गरेमा तुरुन्त कसैलाई आएर भनिहाल्नु’ भनी सिकाउनुपर्छ । कडा स्वरमा प्रतिवाद गर्नुपर्छ भनेर पनि सिकाउनुपर्छ । आमा, दिदी, बुबाहरू सजग भएर आफ्ना छोरी, बहिनीलाई यस्तो यौन दुराचारबाट बचाउन सहयोग गर्नुपर्छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतवार ०८:३९

लोकप्रिय