सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्सामा अर्को मुद्दा ठिक्क पार्दा सरकारमा रहेका दलका नेताहरू भने हाइसन्चोमा रहेका छन् । बेचन झा पक्राउ परेपछि बनेको गठबन्धनबाट वर्तमान सरकारसँग जोडिएका र ठगी आरोप लागेमा कहीँ कतै अनुसन्धान नहुने पक्का भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका केही व्यक्तिहरू अहिले पनि सरकारकै संरक्षणमा रहेका छन् ।
लाखौं सहकारी पीडित सहकारी आन्दोलनमा सडकमा छन् । तिनीहरूको माग सम्बोधन गर्न सरकारले कुनै पहल गरेको छैन । सूर्य थापा आयोगको प्रतिवेदन रवि लामिछाने पक्राउ गरेसँगै थन्कियो । यसले सरकारले रवि लामिछानेलाई फसाउनका लागि मात्र संसदीय छानबिन समिति बनाएको पुष्टि भयो । सत्ता निकट सहकारी ठगहरू अझै संसद्को तलबभत्ता खाँदैछन् ।
पूर्वकानून मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ललितपुरको मितेरी सहकारी ठगीमा मुछिएका छन् । आफूहरूको बचत अपचलनमा गुरुङ संलग्न रहेको दाबी गर्दै बचतकर्ताले उनीविरुद्ध प्रहरीमा महिनौँ अगाडि उजुरी दिएका थिए । तर उनी पत्नीसँग डिभोर्स गरेको तर्क गर्दै त्यसबाट पन्छिरहेका छन् । जबकि, गुरुङ पत्नीसँग डिभोर्स गर्नुपूर्व नै उक्त सहकारीसँग आबद्ध थिए ।
सिआइबीमा पुगेर तीन पटक बयान दिए पनि उनलाई अदालतको ढोकासम्म नपुर्याई उन्मुक्ति दिइएको छ । सहकारीका बचतकर्ताको १४ करोड रुपैयाँ हिनामिनामा संलग्न भनिएकी गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ सात महिनादेखि फरार छिन् । त्यो सहकारी ठगी प्रकरणमा मुछिएका कसैलाई पनि प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन ।
रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धान गरेर कारबाही गर्नुपर्ने भन्दै संसद्मा संसदीय छानबिन समिति गठनको विषय जोडदारका साथ उठाएका कांग्रेस महामन्त्री गगन थापाले सहकारी ठगीमा संलग्न सबैमाथि अनुसन्धान माग विगतमा राख्दै आइरहेका थिए । तर आफ्नै पार्टीका उपसभापति मुछिएको ठगी प्रकरणमा उनले रहस्यमय मौन व्रत बसेका छन् ।
भुटानी शरणार्थी प्रकरण अनुसन्धानको समयमा यसमा मुछिएका जोसुकैमाथि कारबाही हुनुपर्ने विचार राख्ने गरेका गगनको एमाले–कांग्रेस नेतृत्वमा सरकार गठन भएपछि उनी बोल्न छाडेर केपी ओलीको बेडरुमा बिचौलिया हाबी भन्दै प्रसङ्गलाई विषयान्तर गरिरहेका छन् । सहकारी ठगी प्रकरणमा मुछिएका एमालेका तीन नेतामाथि पनि खासै अनुसन्धान भएको छैन ।
बागमती प्रदेश प्रदेशसभाका एमाले सांसद ज्ञानबहादुर तामाङमाथि नेशनल नमोबुद्ध सहकारी संस्थाको बचत अपचलनमा संलग्न भएको आरोप लागेको छ । कुनै समय तामाङ अध्यक्ष रहेको यो सहकारीका ११ हजार बचतकर्ताको ५२ करोड रुपैयाँ ठगी भएको छ । सहकारीका बचतकर्ताले आफूहरूमाथि ठगी गरिएको भन्दै संलग्नमाथि कारबाहीको माग राख्दै आइरहेका छन् ।
तामाङजस्तै सहकारी प्रकरणमा मुछिएका एमालेका केन्द्रीय सदस्य राजीव पहारीलाई पनि अहिलेसम्म कसैले छुन सकेका छैनन् । बचतकर्ताको बचत अपचलन भएको पोखराको सूर्यदर्शन सहकारी संस्थाबाट पहारीले पेस्कीस्वरूप १५ लाख रुपैयाँ लिएका थिए । उक्त सहकारी ठगीबारे अनुसन्धान गरेको पोखरा उपमहानगरपालिकाको प्रतिवेदन र सूर्यदर्शन सहकारीको वित्तीय विश्लेषण प्रतिवेदनमा पहारीले पेस्की लिएको उल्लेख छ ।
तर आफूलाई थाहा नभएको पहारीको इन्कारी बयानकै आधारमा तथ्य, प्रमाणहरू हुँदा हुँदै उनलाई उन्मुक्ति दिइएको छ । संसद्को लेखा समितिका सभापति ऋषिकेश पोखरेलपत्नी अञ्जला कोइरालालाई भाग्ने मौका दिएर आदलतमा हाजिर हुने सुविधा दिइएको थियो । विद्यालयकी शिक्षकसमेत रहेकी उनले विद्यालयमा दैनिक हाजिर गरिरहेको भए पनि प्रहरीले फरार रहेको भन्दै सिधै अदालतमा मुद्दा दायर गरेको थियो ।
पक्राउ गर्दा थुनामा राख्नुपर्ने भएकाले प्रहरीले कोइरालाको हकमा फरक व्यवहार प्रदर्शन गरेको हो । प्रहरीको सहानुभूति पाएकी उनी गत पुस २४ मा जिल्ला अदालत मोरङमा हाजिर भएकी थिइन् । अदालतले १० लाख रुपैयाँ धरौटी माग गरेकोमा उनी सोही दिन उक्त रकम बुझाएर रिहा भएकी थिइन् ।
राप्रपाकी सांसद् गीता बस्नेतमाथि पनि सहकारी ठगी गरेको आरोप छ । उनलाई पनि सरकारले अहिलेसम्म पक्राउ गरेको छैन । तर उनले तलब भत्ता भने लिइरहेकी छिन् । उनको बैंक खातामा तलब भत्ता जाने भएकाले रोकिएको छैन । उता स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा माया राई भने तीन दिनअघि पक्राउ परेकी छिन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं