सूचनाको शक्ति - The Power Of Information

        

बाँके निकुञ्जमा जंगल सफारी सुरु, आउन थाले भारतीय पर्यटक

बाँके राष्ट्रिय निकुञ्जले सोमबार (वैशाख १) देखि जंगल सफारी सुरु गरेको छ । निकुञ्जको पश्चिम उत्तर क्षेत्र खडकवार, हात्तीसारबाट सुरु भएको जंगल सफारी तीन घण्टामा अगैयासम्म पुगेर सकिएको बाँके राष्ट्रिय निकुञ्जका रेञ्जर सुपुष्प रेग्मीले जानकारी दिए ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले मानव वन्यजन्तुबीचको द्वन्द्व घटाउने विषय प्राथमिकतामा राखेर सफारी गरिएको बताए । ‘यसको मुख्य उद्देश्य पर्यापर्यटनको विकास र निकुञ्जमा देखिएका समस्या र चुनौतीका विषयमा छलफल गर्दै जनतालाई पर्यापर्यटनसँग जोड्न खोजिएको हो,’ उनले भने ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले जंगल सफारीका क्रममा बाघ, चौका चित्तल, रतुवा, जरायो, बँदेल लगायतका वन्यजन्तुको दृश्यावलोकन गरिएको बताए । निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन जंगल सफारी कार्यक्रमले सघाउ पुग्ने उल्लेख गर्दै रेग्मीले वन सप्ताहअन्तर्गत मंगलबार पनि जंगल सफारीको कार्यक्रम रहेको बताए ।

सफारी कार्यक्रममा राप्तीसोनारी गाउँपालिका–८ का वडाध्यक्ष शालिकराम डाँगी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का, मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका लोकेन्द्र खत्री, नेचर गाइड लगायत सफारीमा सहभागी थिए ।

विसं २०६७ मा बाघ संरक्षणका लागि स्थापना गरिएको सो निकुञ्जमा सन् २०१३ मा गणना गर्दा चार बाघ थिए भने २०२२ को गणनामा त्यो संख्या बढेर २५ पुगेको थियो । जैविक विविधताको संरक्षण, बाघ र बाघको आहारा प्रजातिको संरक्षण, मध्यवर्ती क्षेत्रका प्राकृतिक स्रोतको नियमन र व्यवस्थापन तथा पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप निकुञ्जमा विभिन्न काम हुँदै आएका छन् ।

करिब ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके निकुञ्जमा स्तनधारी जनावार र चराका विभिन्न प्रजाति पाइन्छन् । मुख्य गरेर बाघको बासस्थानका लागि उपयुक्त मानिएको निकुञ्जमा चौका प्रजाति एक विशेषताका रुपमा देखिएको निकुञ्जको भनाइ छ । पछिल्लो समय आन्तरिक पर्यटकका साथसाथै भारतीय पर्यटक पनि निकुञ्जमा आउन थालेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८२, मंगलवार ०७:५९

लोकप्रिय