चैत ३० गते नेपालगन्जमा आयोजना गरिने नेपाली कांग्रेस, बाँकेको तेस्रो जिल्ला सम्मेलनको तयारी पुरा भएको नेपाली कांग्रेस बाँकेले जनाएको छ ।
नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले नेपालगन्जको भवनियापुरस्थित नवनिर्मित सिटी हलमा आयोजना गरिने जिल्ला सम्मेलनको तयारी पूरा भएको जनाउँदै सो सम्मेलनको उदघाटन नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गर्ने कार्यक्रम रहेको बताए ।
उनले सम्मेलनमा पार्टी सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्यहरू दीपक गिरी, गोपाल दहित, डा.गोविन्द पोखरेल, मैकुलाल बाल्मिकी, सञ्जय गौतम, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेश सहमहामन्त्री निमा गिरी, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ्ग, राष्ट्रियसभा सदस्य युवराज शर्मा लगायतका नेताहरू पनि सहभागी हुने बताए ।
सभापति गौडेलका अनुसार सम्मेलनमा वार्षिक नीति तथा कार्यक्रम र साङ्गठानिक तथा आर्थिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत हुनेछ । नीति तथा कार्यक्रम पार्टी सभापति नारायणप्रसाद गौडेलले, साङ्गठानिक प्रतिवेदन सचिव सुधांशु कोइरालाले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष यज्ञ बस्नेतले प्रस्तुत गर्नेछन् ।
यसअघि गत चैत १५ गते बसेको नेपाली कांग्रेस, बाँकेको कार्यसमिति बैठकले जिल्ला सम्मेलनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम तथा साङ्गठानिक र आर्थिक प्रतिवेदन सर्वसम्मतरूपमा पारित गरिसकेको छ ।
नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाका अनुसार जिल्ला सम्मेलनमा प्रस्तुत हुने नेपाली कांग्रेस, बाँकेको नीति तथा कार्यक्रममा पार्टी सङ्गठन सुदृढीकरण, सामाजिक तथा विकास निर्माण, सम्मान, सूचना, सम्पर्क, समन्वय र प्रचारप्रसार, आर्थिक व्यवस्थापन, निर्माणाधिन सुशील कोइराला स्मृति भवन लगायतका गहन तथा महत्त्वपूर्ण विषयहरू समेटिएका छन् ।
त्यस्तै, जिल्ला सम्मेलनमा प्रस्तुत गरिने साङ्गठानिक प्रतिवेदनमा सदस्यता वितरण, नवीकरण, भातृ संस्थाहरूको उचित व्यवस्थापन तथा परिचालन लगायतका एजेन्डा समेटिएको सचिव कोइरालाले बताए ।
यसैगरी, जिल्ला सम्मेलनमा कोषाध्यक्ष यज्ञ बस्नेतले २०८१ साउन १ गतेदेखि २०८१ चैत १२ गतेसम्मको आय–व्यय विवरणसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । जिल्ला सम्मेलनलाई व्यवस्थितरूपमा सम्पन्न गर्न पदाधिकारी तथा सदस्यहरूको संयोजकत्वमा गठन गरिएका विभिन्न उपसमितिहरूले तयारीलाई सम्पन्न गरेको जनाइएको छ ।