‘लाज शरणम्’ फिल्ममा कुपोषित बालकको भूमिकामा अभिनय गरेका १५ वर्षीय विकास केसीको कुपोषणकै कारण मृत्यु भएको छ । फिल्मका निर्देशक कुमार कट्टेल ‘जिग्री’ मंगलबार ले सामाजिक सञ्जालमार्फत उनको निधन भएको जानकारी दिएका छन् ।
२०६६ साउन १ मा जन्मिएका केसीको मंगलबार (चैत १९) मा निधन भएको हो । निर्देशक कट्टेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुपोषणबाट नेपालमा अझै बालबालिकाले ज्यान गुमाइरहेका छन् । विकासको मृत्युले हामीलाई स्तब्ध बनाएको छ । यो घटनाले कर्णालीको कष्टकर जीवन र बाल मृत्युदरप्रति सरकारको ध्यान जाओस् ।’
उनले फिल्ममार्फत कर्णालीको वास्तविकता उजागर गर्न खोजिएको र कला क्षेत्रबाट कुपोषणविरुद्ध आवाज उठाइरहने प्रतिबद्धता जनाएका छन् । फिल्म परिवारले केसीको आत्माको शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । टोलीले सरकार र सम्बद्ध पक्षलाई कुपोषणबाट हुने बाल मृत्यु रोक्न गम्भीर बन्न आग्रह गरेको छ ।
फिल्ममा वास्तविक कुपोषित बालकको चरित्रमा देखिएका केसी कर्णाली क्षेत्रका बासिन्दा थिए । उनको जटिल कुपोषणको उपचारका लागि सुटिङपछि ग्रीन सिटी अस्पताल ल्याइएको थियो । अस्पतालले कान्ति बाल अस्पताल रिफर गरे पनि त्यहाँ उपचार सम्भव नभएको भन्दै फर्काइएको थियो ।
फिल्म टोलीले सुटिङका क्रममा उनको स्याहार, खानेकुरा, लत्ताकपडा र परिवारको सहजताका लागि मोबाइलसहित सहयोग गरेको थियो । फिल्म ‘लाज शरणम्’ कर्णालीको दुःखलाई चित्रण गरिएको चलचित्र हो । एक महिना अगाडि प्रदर्शनमा आएको चलचित्र अहिले पनि हलहरुमा चलिरहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कर्णाली