सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौँ महानगरले हुलाकबाट पठायो पूर्वराजालाई जरिवानापत्र

पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले गरेको जरिवाना सम्बन्धी पत्र निर्मल निवासले बुझ्न नमानेपछि हुलाकबाट पठाइएको छ । महानगरका नगरप्रहरी उपरीक्षक दिनेश अर्यालले हुलाकबाट जरिवानापत्र पठाइएको बताए ।

‘आज नगरप्रहरी टोली जरिवानापत्र लिएर निर्मल निवास पुगेको थियो । तर, जरिवानापत्र बुझ्न मानेन । भर्खरै हुलाकमार्फत पत्र पठाइसकेका छौँ,’ उनले भने । आइतबार (चैत १७) बिहान महानगरको नगर प्रहरी टोली उक्त पत्र लिएर निर्मल निवास गेटमा पुगेको थियो ।

महानगरले विभिन्न नौ शीर्षकमा आठ पत्र काट्दै पूर्वराजा शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ । शुक्रबार (चैत १५) राजावादीको प्रदर्शनक्रममा कोटेश्वर, महादेवस्थान, तीनकुने, जडीबुटी क्षेत्र, सिनामंगल सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको भन्दै एक–एक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

यस्तै, महानगरको दमकल फुटाएकामा एक लाख ३० हजार, तीनकुने क्षेत्रको रुखबिरुवा र रेलिङ तोडफोड गरेकामा ४० हजार, तीनकुनेकै आइल्यान्ड तोडफोड गरेकामा २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

शुक्रबार तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा महानगरको दमकल तोडफोड गरिँदा आगो निभाउन गएका पाँच नगर प्रहरी घाइते भएका थिए । प्रदर्शनक्रममा दुईजनाको मृत्यु भयो । तीनकुने क्षेत्रका अधिकांश भौतिक संरचनामा क्षति पुगेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतवार १२:३६

लोकप्रिय