सूचनाको शक्ति - The Power Of Information

        

सात करोडमा बन्यो अस्पताल भवन, छैन उपकरण र जनशक्ति

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच श्ययाको आधारभूत अस्पताल भवन निर्माण गरिएको छ । संघीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत लोमान्थाङ गाउँपालिकाको सहलगानीमा साढे दुईतले आधारभूत स्वास्थ्य सेवा भवन निर्माण गरिएको हो ।

उपल्लो मुस्ताङका नागरिकलाई स्वास्थ्य सेवा पुरेयाउने गरी आर्थिक वर्ष २०७८–०७९ मा पूर्वाधार निर्माणको ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अवधि दुई वर्ष रहेको लोमान्थाङस्थित आधारभूत स्वास्थ्य सेवा पूर्वाधार निर्माण चल्दै गर्दा कोरोना माहामारी र प्रतिकूल मौसम लगायतका कारण तोकिएको समय सम्पन्न हुन सकेको थिएन । ठेक्का सम्झौताअनुसार उक्त भवन आव २०८०–८१ जेठमा सकिनुपर्ने थियो ।

लोमान्थाङ–५ लोमान्थाङ बजार नजिक २७ कोठे भवन निर्माण गरिएको हो । उक्त भवन रु सात करोड १९ लाखको लागतमा निर्माण सम्पन्न गरिएको गाउँपालिकाका निमित्त कार्यालय प्रमुख विकास केसीले जानकारी दिए । विशेषज्ञ चिकित्सकसहितको सेवा प्रवाह गर्ने उद्देश्यले शल्यक्रिया कक्ष, एक्सरे कक्ष, ल्याब कक्ष, प्रसूति कक्ष, फार्मेसी कक्ष लगायत चिकित्सक तथा स्वास्थ्यकर्मी बस्ने आवास निर्माण गरिएको उनले जानकारी दिए ।

लोमान्थाङका अध्यक्ष टसीनर्बु गुरुङले उपल्लो मुस्ताङका नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको सुविधा पुर्याउन भवन निर्माण गरिएको बताए । भवन बनेपनि सेवा सञ्चालन गर्न उपकरण र जनशक्ति अभाव भएको उनको भनाइ छ । ‘सेवा सञ्चालन गर्न सङ्घीय तथा प्रदेश सरकारको सहयोगको आवश्यकता छ,’ अध्यक्ष गुरुङले भने ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार ११:५९

लोकप्रिय