कर्णाली प्रदेशमा भित्रिने तरकारी तथा फलफूलमा विषादीको मात्रा जाँच गर्न भेरीगंगा नगरपालिका–४ हर्रेमा स्थापना भएको विषादी प्रयोगशाला अलपत्र परेको छ । प्रदेश सरकारले आवश्यक बजेट र जनशक्तिको व्यवस्थापन नगर्दा प्रयोगशाला अलपत्र परेको हो ।
कर्णाली प्रदेश सरकारले ६ वर्षअघि ७० लाख रूपैयाँ लागतमा विषादी प्रयोगशाला स्थापनाका लागि भवन निर्माण गरेको थियो । कर्मचारी र प्रयोगशालामा आवश्यक उपकरण खरिद गर्ने पर्याप्त बजेट नभएपछि भवन सम्पन्न भए पनि सञ्चालनमा आउन नसकेको प्रयोगशालाका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायले बताए ।
प्रदेशको एकीकृत कृषि प्रयोगशालाका अनुसार भवन निर्माण भए पनि बजेट तथा जनशक्ति नहुँदा सञ्चालन हुन नसकेको हो । रोकायले प्रयोगशाला निर्माण भए पनि आवश्यक उपकरण खरिद र जनशक्ति नहुँदा सञ्चालन हुन नसकेको बताउँदै सरोकार भएका निकायसँग बजेट र जनशक्ति व्यवस्थापनका लागि आग्रह गरिएको जानकारी दिए ।
उनका अनुसार हालसम्म पनि व्यवस्थापन हुन नसक्दा सञ्चालनमा समस्या भइरहेको हो । मन्त्रालयले हर्रे र सल्यान कपुरकोटको प्रयोगशाला सञ्चालन गर्न २९ लाख रूपैयाँमात्र विनियोजन गरेको जनाउँदै प्रयोगशालाका प्रमुख रोकायले उक्त रकम कम हुने भएकाले ६५ लाख रूपैयाँ बजेट माग गरी मन्त्रालयमा पठाइएको उल्लेख गरे ।
‘आवश्यक पर्ने उपकरण, सामग्री खरिद गर्न बजेट पुग्दैन । सुर्खेत र कपुरकोटको प्रयोगशालाका लागि ६–६ जना कर्मचारी माग गरेका छौँ । तर, अहिलेसम्म उपलब्ध हुनसकेको छैन,’ उनले भने । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रयोगशाला सञ्चालनका लागि रकम कम भएकाले रकमान्तर गर्ने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता कृषि प्रसार अधिकृत धनबहादुर कठायतले जानकारी दिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कर्णाली