गत बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ । निर्माताले आइतबार सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो चलचित्रले बिहीबार शुक्रवार र शनिवार गरी २ करोड ७ लाख व्यापार गरेको हो । चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले वितरकहरूबाट प्राप्त रिपोर्टका आधारमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको बताए ।
रिलिजको पहिलो दिनदेखि नै यस चलचित्रले उल्लेख्य रूपमा दर्शकको साथ पाउँदै आएको छ । रिलिजको दिन फागु पूर्णिमा भएको कारण मध्य दिनदेखि शो सुरु भएता पनि दिउँसोदेखि प्राप्त सम्पूर्ण शोहरू हाउसफुल भएका थिए भने शुक्रवार पनि चलचित्रलाई दर्शकको राम्रो साथ प्राप्त भएको थियो । पहिलो शनिवार देशभरका सम्पूर्ण शोहरू हाउसफुल भई नयाँ शोहरू समेत थपिएको थियो र थपिएका शोहरु समेत तुरुन्तै हाउसफुल भइरहेको निर्देशकले बताएका थिए ।
चलचित्र ‘अञ्जिला’ले आइतबार पनि राम्रो व्यापार गर्न सफल भएको वितरक करण श्रेष्ठले बताए । बिहानीका शो हरुमा केही कम दर्शक देखिएता पनि दिउसो र साँझपखका प्रायः शोहरू हाउसफुल रहेको श्रेष्ठले बताए । आइतबार पनि चलचित्र युनिट दर्शकलाई भेट्न हलहलमा पुगिरहेको छ । ‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् ।
यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ । यस चलचित्रमा एन्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । दर्शकहरूको सकारात्मक प्रतिक्रियासँगै ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर, रात किन हुन्छ’ सामाजिक सञ्जालमा भाइरल भएको छ ।
थानेश्वर गौतम र शान्तिश्री परियारको स्वरमा रहेको यो गीतको प्रभाव यति गहिरो बनेको छ कि दर्शकहरूले यससँग जोडिएका भावुक पोस्टहरू सेयर गरिरहेका छन् । टिकटक, फेसबुक, युट्युब लगायतका प्लेटफर्महरूमा यस गीतमा विभिन्न भिडियोहरू बनिरहेका छन्, जसले चलचित्रको लोकप्रियतालाई अझ बढाइरहेको छ । यो गीतमा प्रभा बर्तौलाको शब्द रचना रहेको छ बने थानेश्वरले नै सङ्गीत दिएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं