२०८३ वैशाख १० , बिहीबार 23, April 2026, Thursday

मन्त्रीहरुको ‘पारा’ देखेर सत्तारुढ दलकै नेता ‘छक्क’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ चैत ३ गते आइतबार

सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले पूर्वविशिष्टलाई सेवा सुविधा बढाउने गरी कानुन बनाउन लागिएको विषयमा मन्त्रीहरूले संसद्मा नबोलेको भन्दै आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बेल्दै उनले सांसदहरूलाई बुझेर मात्र प्रश्न गर्न आग्रह गरे ।

उनले भने, ‘आज उठ्यो सुविधा दिने विधेयक ल्याइँदैछ । म नाम लिन्नँ, प्रतिपक्षका सांसद गार्ड लिएर हिँड्नुहुन्छ । अहिले सांसद मात्रै हुनुहुन्छ, त्यो विधेयक आउँदै छ भन्ने कुरा साँचो हो कि होइन ?’ सर्वोच्च अदालतको आदेशानुसार नै डेढ वर्षदेखि कानुन मन्त्रालयमा उक्त विधेयकको ‘ड्राफ्ट’ बनिरहेको पन्तले बताए ।

‘सरकारबाट पावरमा भएकाले अन्धाधुन्ध सुविधा लिए भनेर सर्वोच्च अदालतले जथाभावी नगर, मापदण्ड बनाएर मात्रै देऊ भन्यो । त्यो विधेयकको ड्राफ्ट डेढ वर्षदेखि कानुन मन्त्रालयमा चलिरहेको छ । यो सरकार आएको कति भो ?’ उनले प्रश्न गरे । प्रश्न उठाइएछि संसद्मा जवाफ नदिएर मन्त्रीहरूले बाहिर बोलेर हिँडेको भन्दै उनले आपत्ति जनाए ।

‘यो त मन्त्रीजीहरूले बोल्नुपर्ने । मन्त्रीजीहरूको पारा देखेर छक्क पर्छु । हिजो प्रकाशमानजीले यो कुरा होइन भनेर पाल्पामा बोल्नुभएछ । आएर त्यही कुरा संसद्मा भने भो नि,’ उनले भने । प्रश्न उठाइएपछि ‘मन्त्रीहरू कानमा तेल हालेर बस्न नहुने’मा उनले जोड दिए ।

‘…भन्नुपर्यो नि आएर, कसरी बनेको ? के कारणले बनेको ? कुन अवस्थामा छ ? सरकारको सोच के छ ? पटक–पटक प्रश्न उठेपछि मन्त्रीहरू कानमा तेल हालेर बस्न मिल्छ ?’ पन्तले प्रश्न गरे । उनले जनताको चासो सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आग्रह गरे ।

उनले भने, ‘म प्रधानमन्त्रीलाई पनि आग्रह गर्दछु, जनताको चासोलाई सम्बोधन गरौँ । जनताको भावनालाई सम्बोधन गरौँ । लोकतन्त्र भनेको जनभावनाअनुसार अघि बढ्ने हो ।’ प्रधानमन्त्रीलाई उनले मन्त्री फेर्न सुझाव समेत दिए ।

‘उहाँको क्याबिनेटले राम्ररी जनताको सेवा गरेको छैन भने, यो प्रधानमन्त्रीय व्यवस्था हो । मन्त्रीहरू फेर्ने बेला आयो । पफर्मेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न जरुरी छैन । निश्चय पनि प्रधानमन्त्रीले मूल्यांकन गर्नुभएको होला,’ उनले भने ।

प्रकाशित मिति : २०८१ चैत ३ गते आइतबार