सूचनाको शक्ति - The Power Of Information

        

न्यून भिजिबिलिटीका कारण एक सातादेखि हवाई उडान प्रभावित

एयर अरेबियाको जहाजले बिहीबार दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भयो । काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट गर्यो । हावाको गति नमिलेको ‘विन्ड सियर’ भएर विमानले मिस एप्रोच गरेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए ।

‘एयर अरेबियाको जहाजले काठमाडौँ विमानस्थलमा फाइनल एप्रोच लिँदा मिस एप्रोच भएको छ,’ उनले भने, ‘दुई तर्फको हावा मिसिएपछि भुमरीजस्तो हुनेलाई विन्ड सियर भनिन्छ । जसका कारण जहाज हल्लिएर मिस एप्रोच भएको थियो ।’ त्यसैगरी नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इण्डियाको जहाजले बिहीबार सिमरा माथिको आकाशमा होल्ड भइ चार फन्को मारेपछि काठमाडौँमा अवतरण भएको थियो ।

सँगै बैङ्ककबाट आएको थाइ लाइन एयरको जहाज पनि केहीबेरदेखि होल्डमा परेको थियो । यसअघि बुधबार जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको जहाज केही समय होल्ड भएपछि अवतरण भयो । कतारको दोहाबाट आएको कतार एयरवेज र भारतको नयाँ दिल्लीबाट आएको एयर इन्डिया, मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयर, दुबईबाट आएको फ्लाई दुबईको जहाज पनि होल्ड भएका थिए ।

त्यतिमात्रै हैन भैरहवाबाट आएको फ्लाइ दुबई, धनगढीबाट आएको बुद्ध एयर, पोखराबाट आएको यति एयरलाइन्सका विमान कम भिजिबिलिटीका कारण होल्डमा परेका थिए । प्रतिकूल मौसमका कारण पछिल्लो एक सातादेखि मुलुकको उडान सामान्य प्रभावित भइरहेको छ । प्रतिकुल मौसमका कारण आवश्यक भिजिबिलिटी नहुँदा र आन्तरिक र अन्तरराष्ट्रिय हवाई उडान प्रभावित भइरहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका प्रवक्ता शेर्पाका अनुसार मौसममा आएको खराबीका कारण अन्तरराष्ट्रिय हवाई उडान बढी प्रभावित भइरहेको छ । नेपालमा अहिले प्रि–मनसुनी गतिविधि सक्रिय भइरहेको र वर्षा गराउने मौसमी प्रणालीको विकास भइरहेकाले मौसम प्रतिकूल हुँदा न्यून भिजिबिलिटी तथा हावाको गति नमिलेका कारण अन्तरराष्ट्रिय उडानका जहाज होल्ड र मिस एप्रोच हुने गरेको प्रवक्ता शेर्पाले जानकारी दिए ।

अन्तरराष्ट्रिय उडानका जहाज काठमाडौँ विमानस्थलको धावनमार्गको पश्चिमतर्फ ‘जिरो टु’बाट मात्रै अवतरण गर्नुपर्ने हुन्छ । आन्तरिक उडानका जहाजलाई लामो रनवे भएकाले दुवैतर्फबाट अवतरण गर्न मिल्ने भएकाले त्यतिधेरै समस्या नरहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार ०७:५१

लोकप्रिय