प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवर अनिवार्य अवकाशमा जाने दिन नजिकिँदै गर्दा भावी आइजीपीबारे चर्चा चलेको छ । ३० वर्षे सेवा अवधि पुरा गरी यही चैत ५ गते आइजी कुँवर अनिवार्य अवकाशमा जाने भएपछि भावी आइजीपीबारे चर्चा सुरु भएको हो । आइजी नियुक्तिबारे प्रधानमन्त्रीकै सल्लाह सहमति हुने भए पनि गृह मन्त्रालयमा भने बढी हल्ला चलेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुख्य सचिव एकनारायण अर्यालले यो विषयमा केही दिनअघि नै बिफ्रिङ गरिसकेका छन् । गत शनिवार मात्रै प्रधानमन्त्री ओलीसँग भावी आइजीपीका दाबेदार रहेका एआइजी दीपक थापाले भेटघाट गरिसकेका छन् । उनको कुराकानी सकारात्मक रहेको स्रोतले बताएको छ । ‘सामान्य कुराकानी भयो, त्यो पनि कुँवरका छोराको बिहे पार्टीमा भेटघाट भएको हो, प्रधानमन्त्रीबाट सकारात्मक जवाफ आएको छ,’ स्रोतले भन्यो ।
त्यहाँ उनी भावी आइजीपी भएको चर्चा पनि गरिएको थियो । भावी आइजीपीबारे बालुवाटार अहिले चर्चा गर्न चाहँदैन । तर गृह मन्त्रालयमा भने चर्चा चुलिएको छ । आइजीपी कुँवर चैत ५ गते अनिवार्य अवकाशमा जाँदैछन् । आइजीपी कुँवरकै ब्याजी एआइजीहरू प्रशासन विभागका प्रमुख टेकप्रसाद राई, मानव स्रोत विभागका दुर्गा सिंह, अपराध अनुसन्धान विभागका कुवेर कडायत, कार्य विभागका बुद्धिराज गुरुङ र भर्खरै एआइजी बढुवाका लागि सिफारिस भएका जनक भट्टराई पनि अनिवार्य अवकाशमा जादैछन् ।
अनिवार्य अवकाशको केही दिनअघि नै बिदा बस्ने मनस्थितिमा पुगेका आइजीपी कुँवर सरकारले भावी आइजी तय गर्न समय लगाउने भएकै कारण चैत ५ गतेसम्म नै रहने सम्भावना छ । स्रोतका अनुसार भावी आइजीपीलाई सहज बनाउन उनी निर्धारित मितिभन्दा केही दिनअघि नै बिदामा जाने तयारीमा थिए । नेपाली सेनामा अवकाशअघि एक महिनासम्म बिदामा बस्ने परम्परा भए पनि नेपाल प्रहरीले भने यस्तो अभ्यास गरेको छैन ।
हाल प्रहरी ऐनमाथि संसद्मा छलफल भइरहेको अवस्थामा आइजीपी कुँवरको कार्यकाल नबढ्ने निश्चित भएसँगै उनले प्रारम्भिक रूपमा एक महिना अघि नै बिदा बस्ने योजना बनाएका थिए । तर, गृहमन्त्री रमेश लेखकले ‘अहिले नबस्नु, अर्को आइजी तय भएपछि मात्रै बस्नु’ भनेपछि उनी रोकिएका थिए । आइजीपी कुँवर ‘ब्याच नम्बर १०८’का सदस्य हुन्, जसका अधिकांश सहकर्मीहरू पहिले नै बिदामा गइसकेका छन् । आइजी पदका मुख्य दाबेदारहरूमा डीआइजी दीपक थापा, टेकबहादुर तामाङ र सुदीप गिरी छन् ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार थापाको सम्भावना बलियो देखिएको छ । गिरी र तामाङ पनि अब्बल रहेका छन् । उनीहरू खास विवादमा आएका छैनन् । कमान्ड र अनुभवका हिसाबले थापा अघि, इन्टेलिजेन्सका हिसाबले गिरी र अनुसन्धानको हिसाबमा तामाङ अब्बल हुन् । कुँवरका व्याचका केही अधिकृतहरू मध्ये गणेश चन्द र भगवानसिंह विष्टलाई विशेष प्रहरी सेवामा पठाइएको थियो ।
नेपाल प्रहरीमा ३१औं प्रहरी महानिरीक्षक (आइजीपी)को चर्चा सुरु भएको छ । आइजीपी बसन्तबहादुर कुँवर अवकाशमा जाने दिन नजिकिएसँगै भावी आइजीपीको चर्चा सुरु भएको हो । विद्यमान प्रहरी नियमावली अनुसार अबको २३ दिनपछि अर्थात चैत ५ गते आइजीपी कुँवर ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदैछन् । त्यसपछि नेपाल प्रहरीले नयाँ नेतृत्व पाउनेछ ।
यस्तो अवस्थामा ३१ औं आइजीपी बन्ने दौडमा नेपाल प्रहरीका तीन अधिकृत मुख्य प्रतिस्पर्धामा छन् । जसमा सीआइबी प्रमुख तथा एआइजी कार्यरत दीपक थापा, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख तथा एआइजी टेकबहादुर तामाङ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी)का प्रमुख तथा एआइजी सुदीप गिरी छन् । आइजीपी कुँवरका व्याची टेकप्रसाद राई दूर्गा सिंह चन्द, कुवेर कडायत, बुद्धिराज गुरुङमात्रै बाँकी छन् ।
राई पनि केही दिनमै बिदा हुँदैछन् भने आइजीपी कुँवरसँगै कडायत, चन्द र गुरुङ बिदा हुनेछन् । अहिले आइजीपीको प्रतिस्पर्धामा रहेका तीन जना पनि हालका आइजीपी कुँवरकै ब्याची हुन् । उनीहरु वैकल्पिक टोलीका रुपमा ११ भदौ २०५२ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । २६ फागुन २०७९ मा एआइजीमा सिफारिस भएका दीपक थापालाई ६ चैत २०७९ को मन्त्रिपरिषद् बैठकले एआइजीमा बढुवा गरेको थियो ।
थापा एआइजी भएको दुई सातापछि गिरी र तामाङ पनि एआइजीमा बढुवा भएका थिए । १३ चैतमा सुदीप गिरी र टेकबहादुर तामाङ एआईजी बढुवाको लागि सिफारिस भएका थिए । आइजीपी बढुवाको प्रतिस्पर्धामा रहेका तीनै जना एआइजीहरु बढुवाका लागि तीव्र लविइङमा छन् । आफू निकट शक्ति केन्द्रलाई दबाब दिएर उनीहरू आइजीपी बन्न लागिपरेका छन् । आइजीपी प्रतिस्पर्धाको पहिलो नम्बरमा रहेका थापाको उच्च तहका सबै राजनीतिक नेतृत्वसँग राम्रो सम्बन्ध छ ।
करिब दुई साता समेत सिनियर भएको र शक्ति केन्द्रसँग राम्रो सम्बन्ध रहेकाले उनी आइजीपी बन्ने सम्भावना प्रबल रहेको अड्कल गरिन्छ । त्यसैगरी अर्का प्रतिस्पर्धी गिरी सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश केदार गिरीका छोरा हुन् । बाबुको लिगेसी र आफ्नै पनि कांग्रेसका नेताहरूसँग राम्रो सम्बन्ध रहेकाले गिरीको पनि आइजीपी बन्ने सम्भावना रहेको स्रोत बताउँछ । अर्का प्रतिस्पर्धी तामाङ पूर्वडीआइजी देवीलाल तामाङका ज्वाईं हुन् ।
झापा ससुराली भएका पूर्वडीआइजी तामाङको एमाले नेतासँग राम्रो सम्बन्ध रहेको जानकाहरू बताउँछन् । जसकारण स्वच्छ छवि भएका तामाङको पनि आइजीपी बन्ने सम्भावना छ । सरकारले यी तीन एआइजीमध्ये एकलाई आगामी चैत ५ गते आइजीपीमा बढुवा गर्नेछ । थापा, गिरी र तामाङमध्ये जो आइजीपी भए पनि उनले ११ भदौसम्म कमान्ड सम्हालेछन् । त्यसपछि उनीहरू पनि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं