सूचनाको शक्ति - The Power Of Information

        

सात महिनामै सात अर्बको लसुन आयात

चालु आर्थिक वर्षको सात महिनामा नेपालमा झन्डै सात अर्ब रुपैयाँ बराबरको लसुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको तथ्यांक अनुसार नेपालमा माघ मसान्तसम्म ६ अर्ब ८७ करोड ४१ लाख ६९ हजार रुपैयाँ बराबरको लसुन आयात भएको हो ।

पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा अघिल्ला वर्षहरूमा बढीमा साढे दुई अर्बसम्मको लसुन आयात हुने गरेको देखिन्छ । तर, चालु आवको सात महिनामै विगतको तुलनामा झण्डै तेब्बर बढी लसुन आयात भएको आश्चर्यजनक तथ्यांक विभागले सार्वजनिक गरेको छ ।

नेपालमा कतिपय वस्तु ठूलो मात्रामा आयात भएर आंशिक वा पूर्ण प्रशोधन पश्चात् निर्यात पनि हुने गरेको छ । तर, लसुन भने आयात भएर त्यही अनुपातमा निर्यात भएको देखिँदैन । भन्सार विभागका अनुसार चालु आवको माघ मसान्तसम्म नेपालबाट तीन लाख ८३ हजार रुपैयाँ बराबरको ९२० किलो लसुन निर्यात भएको छ ।

त्यस्तै, अघिल्लो आव २०८०–०८१ मा दुई लाख १२ हजार रुपैयाँ बराबरको १८४ किलो र आव २०७९–०८० मा ६ लाख ९३ हजार रुपैयाँ बराबरको चार हजार १४६ किलो लसुन निर्यात भएको थियो । जुन परिमाण आयातको तुलनामा नगन्य हो । आव २०७७–०७८ र २०७८–०७९ मा भने नेपालबाट कुनै पनि परिमाणमा लसुन निर्यात भएको देखिँदैन ।

नेपालमा अघिल्लो आवबाट लसुनको आयात हुने क्रम बढेको देखिएको छ । जुन चालु आवको माघ महिनासम्म आउँदा तेब्बरले वृद्धि भएको छ । सामान्यतया मसलाजन्य सामग्रीको रूपमा प्रयोग गरिने लसुनको खपत एक्कासी तेब्बर मात्रामा हुन सक्दैन । त्यसैले लसुन आयात र यसको प्रयोगको विषयमा आशंका पैदा गरेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार १८:०३

लोकप्रिय