सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्र प्रहरीका डिएसपी सुनिल गिरी कांग्रेस कार्यालयतिर !

सशस्त्र प्रहरीमा नेताको घरमा जान र नेताहरुसँग भेटघाट गर्न र पार्टी कार्यालय वा संसदीय दलको कार्यालयमा जान रोक लगाइएको छ । राजनीतिक दलका नेताहरुसँगको भेटघाटलाई आन्तरिक रुपमै रोक लगाइए पनि सशस्त्र प्रहरीका अधिकारीहरु भने लुकीछिपी पार्टी कार्यालय पुग्ने, नेताहरुको घर घरमा पुग्ने, तथा पार्टीका संसदीय दलका कार्यालयहरुमा पुग्ने क्रम रोकिएको छैन ।

केही महिनाअघि मात्रै सशस्त्रकै डिआइजी अञ्जनीकुमार पोखरेललाई राजनीतिक दलका नेताहरुसँग सम्पर्क बढाएको, प्रहरी मुख्यालयको अनुमति नलिएको भन्दै सचेत गराइएको थियो । त्यसपछि सशस्त्र प्रहरीले आन्तरिक रुपमा राजनीतिक भेटघाटलाई रोक्न पत्रचार गरेको थियो । तर यो पत्रलाई सशस्त्र प्रहरीका कर्मचारीहरुले उल्लंघन गरिरहेका छन् । एक साता अघि सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा झुल्किएका सशस्त्र प्रहरीका डिएसपी सुनिल गिरीले आन्तरिक पत्रचारलाई लत्याएका मात्र छैनन, सुरक्षा अंगको चेनअफ कमाण्डलाई पनि वेवास्था गरेका छन् ।

विना बर्दीमा कांग्रेस संसदीय दलको कार्यालयमा भेटिएका उनी केही सञ्चारकर्मीलाई समेत अभिवादनसमेत फर्काउन भ्याएका थिए भने कांग्रेसका केही नेताहरुसँग भेटघाटमा व्यस्त रहेका थिए । ‘उनी कांग्रेस कार्यालय आइरहने डिएसपीमध्ये एक हुन्’, एक कांग्रेसका नेताले भने । आफूलाई सशस्त्र प्रहरीका डिएआइजी कमल गिरीको मान्छे बताउने डिएसपी सुनिल गिरीको विगतको ट्रयाक रेकर्ड पनि त्यति राम्रो नभएको उनका व्याचीहरूको दाबी छ । ‘अब कमल गिरी आइजिपी हुने हुन मलाई बालै फरर’, उनले आफ्ना व्याचीहरुसँग भन्ने गरेका छन् ।

कुनै बेला सीमानाकाम रहेका बेला पनि उनको कमाण्ड कमजोर रहेको बताइएको थियो । सशस्त्र प्रहरीको प्रधान कार्यालयले सीमा इलाकामा कडाइ गर्ने भनिए पनि झनै तस्करी बढाउने काम गरेका थिए । कुनै बेला सोर्सफोर्स लगाएर डिएसपी गिरी महोत्तरीको रघुनाथपुर बिओपी पुगेका थिए । उनी त्यहीँ गएपछि तस्करी धन्दा सुरु भएको भन्दै विभागले धेरै पटक सचेतसमेत गराएको थिए । अहिले उनी सिन्धुपाल्चोकतिर छन् ।

उनी सिन्धुपाल्चोकमा बस्नुभन्दा पनि सिंहदरबारतिरै दिन कटाउने गरेको एक व्याचीले भने । उनी काम छाडेर सिंहदरवारतिर हल्लिएको खबर सशस्त्र प्रहरी मुख्यालयमा पुगेपछि अहिले हलचल पैदा भएको छ । यो विषय सशस्त्र प्रहरीका केही डिएसपीलाई थाहा भए पनि गुपचुप राखेका छन् । ‘व्याची हो धेरै के हल्ला गर्नु’, एक डिएसपीले भने ‘काम परेर साथीभाइलाई भेट्न गयो होला नि यसलाई संगठनभित्र ठूलो ‘इस्यु’ बनाउन मिल्दैन ।’

तर उनी सोर्सफोर्समा विश्वास गर्ने भएकाले सिन्धुपाल्चोकपछि कुनै अर्को आकर्षक ठाउँ ताक्नका लागि लाइन मिलाउन गृहमन्त्रालयमा रहेका कर्मचारी र गृहमन्त्रीको स्वकीय सचिवालयका सदस्यलाई भेट्नका लागि चाजोपाँजो मिलाउन सिंहदरबार जाने गरेको अर्का व्याचीले बताउँछन् । ‘सशस्त्र प्रहरीको सिंहदरबारमा केही काम हुँदैन, साथीभाइ भेट्ने हो भने बाहिर होटल रेष्टुरेण्ट छदैछन् नि’, अर्का डिएसपीले भने ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार ११:४७

लोकप्रिय