सूचनाको शक्ति - The Power Of Information

        

घुमुवा राख्दै असुल्दै डिआइजी शर्मा

मधेश प्रदेशको प्रहरी प्रमुख भएदेखि नै सादा पोशाकमा काजमा खटाइएका घुमुवा हटाउने अभियान सुरु गरेका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको सेवावधि एक महिनामात्र बाँकी छ । आइजीपी भएपछि पनि मधेश प्रदेशका जिल्लामा काजमा घुमुवा राख्न रोकेका आइजीपी कुँवरको अवकाशको मिति नजिकिएसँगै बागमती प्रदेशका डिआइजी कृष्णहरि शर्माले नाका नाकामा घुमुवा तैनाथ गरी असुली गरेको आरोप छ ।

चितवनको लोथर, मकवानपुरको भैैंसे, चौकीटोल हुँदै रातमाटे चेकपोष्टबाट प्रहरीकै सेटिङमा गाँजा भारततर्फत् जाने गरेको छ । मधेश प्रदेशबाट मकवानपुरको ठिंगन हुँदै नक्कली बिलबिजक देखाएर चिनीदेखि कपडा तस्करीका माध्यमबाट काठमाडौंमा गइरहेको छ । तस्करीको लाइन चलाउन डिआइजी शर्माले नै लोथर र रातमाटेमा काजमा इन्चार्जदेखि सिपाहीसम्म ल्याएर राखेका छन् ।

रातमाटे चेकपोष्टमा अन्यत्रै दरबन्दी भएका हवल्दार विनय चौधरीलाई राखेर खुलेआम गाँजा तस्करी हुँदै आएको छ । चितवन रमकवानपुरका गाउँ गाउँबाट रातमाटे हुँदै दैनिक टनका टन गाँजा भारततर्फ जाने गरेको छ । नेपालबाट गएको गाँजा भारतमा पटक पटक बरामद हुँदैआएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयबाट गएको माघ १८ गते सरुवा भएका असई राजेशप्रसाद साहलाई डिआइजी शर्माले नै रमाना नदिन दबाब दिएको स्रोत बताउँछ ।

साहको प्रहरी चौकी चिती लमजुङ सरुवा भएको छ । तर डिआइजी शर्माकै दबाबमा मकवानपुरका एसपी विश्वराज खड्काले उनलाई रमाना दिएका छैनन् । उल्टै डिआइजी शर्माले असई साहलाई सुरुमा बसपार्क, त्यसपछि भैंसे र त्यहाँ पनि नभए हेटौंडाको चौकी टोल प्रहरी चौकीमा सरुवा गर्न दबाब दिएका थिए । तर एसपी खड्काले साहको छवि राम्रो नभएकाले सरुवा गर्न सकेका छैनन् । डिआइजी शर्माले महोत्तरी दरबन्दी भएका सिपाही अमिता पटेललाई पनि सचिवालयमा राखेका छन् ।

त्यसो त यसअघि ललितपुरमा दरबन्दी भएका सई बृजेशकुमार चौधरी र महोत्तरी दरबन्दी भएका बरिष्ठ सई राजेश यादवलाई रातमाटे चेकपोष्ट र लोथरमा काजमा ल्याएर इन्चार्ज बनाएका थिए । तर धेरै विवाद भएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा उनीहरुलाई तानिसकिएको छ । २०८२ भदौमा अवकाश हुने डिआइजी शर्मा बागमतीमा सरुवा हुनासाथ कमाउधन्दामा लागेको र काजमा प्रहरी ल्याउँदै असुलीमा लगाएको आरोप छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार ११:२८

लोकप्रिय