नेपालगन्जका ५४ वर्षीय मजदुर रज्जत कजगर विगत ३५ वर्षदेखि खच्चडलाई इट्टा बोकाउने काम गर्दै आएका छन् । अहिले उनी चार वटा घोडा र दुई वटा खच्चडसहित भक्तपुरको यापि भैरव चिम्नी इट्टा उद्योगमा काम गरिरहेका छन् । सानैमा बुबा बितेपछि उनी साथीहरूको लहै लहैमा लागेर इट्टाभट्टामा काम गर्न भनी खच्चडसहित उपत्यका भित्रिएका थिए ।
अहिले उनले यही काम गरेर नै परिवार पालिरहेका छन् । उनले आफ्ना पुर्खाहरूले पनि यही काम गर्दै आएको बताए । उनले भने ‘हाम्रो त बाजेको बाजे पनि यही काम गर्नुहुन्थ्यो । मैले यो भट्टामा काम गर्न थालेको पनि ३५ वर्ष भइसक्यो ।’ मजदुरहरूले चाङ बनाइ राखेका इट्टालाई खच्चडले बोकेर चिम्नीसम्म पुर्याइदिने कजगरले बताए ।
उनले त्यस बापत आफूहरूले पैसा पाउने सुनाए । उनले एकपटकमा खच्चडले ३५० ओटा इट्टा बोक्ने र एक हजार पुगेपछि साहुबाट आफूहरूले ४५० रुपैयाँ पाउने बताए । उनलाई यस पेसाबाट फाइदा हुन्छ त भनेर प्रश्न गर्दा उनी भन्छन्, ‘मौसमको केही ठेगान छैन । पानी पर्यो भने, यो इट्टा गल्यो भने १५–१५ दिन बसाइ दिन्छ । लेबरलाई १८ हजार दिनुपर्छ महिनाको । पानी नपरे फाइदा हो, पानी परे घाटा हो बहिनी ।’
उनले अहिले यापि भैरव चिम्नी इट्टा उद्योगमा खच्चड लिएर नेपालगन्जदेखि आएका तीन वटा समूहहरू रहेको बताए । उनले आफ्ना समूहमा भने ६ जना मजदुरहरू रहेको सुनाए । कजगरले इट्टाभट्टामा तीन महिना छोटो समय मात्रै काम हुने भन्दै गुनासो गरे । उनले तीन महिनाको कमाइले नै वर्षभरि खानका लागि जोहो गर्नुपर्ने बाध्यता रहेको सुनाए । उनले अरू बेलामा खच्चडको केही काम नहुने बताए ।\
उनले भने, ‘यही भट्टामा आउने हो, बर्खामा त केही काम हुँदैन । तीन महिनाको कमाइले वर्षभरि खानुपर्छ । पहिले पाँच महिना थियो । के सरकारी नियम लाग्यो, अब ९० दिन मात्रै हुन्छ ।’ कजगरले भट्टा सिजनमा खच्चडले सधैँ काम गर्ने बताए । उनले काँचो इट्टा उठाउने काम नभएको बेलामा भने खच्चडहरूलाई चराउन नजिकैको चौरमा लाने गरेको सुनाए ।
खच्चडलाई दिनमा कति पटक खुवाउनु पर्छ भन्ने प्रश्नमा उनी जवाफ दिन्छन्, ‘रातभरि खान्छ यो, दिनभरि काम गर्छ । दिउँसो हामीहरू भात खान गएको बेला पनि १२ बजेदेखि २ बजेसम्म खान्छ यसले, अनि फेरी काम गर्छ ।’ कजगरले खच्चडलाई धानको ढुटा, मकै, सख्खर मिसाएर खुवाउने गरेको जानकारी दिए । आफ्नो पुर्खौली पेसाका रूपमा खच्चड पालन गर्दै आएका कजगर यसलाई बढाउने सोचमा छैनन् ।
उनी खच्चड बढाउन धेरै पैसा लाग्ने बत्ताउँछन् । आफूसँग त्यतिधेरै पैसा नभएको उनले दुखेसो पोखे । उनी भन्छन्, ‘अब पैसै त छैन, खच्चड बढाउन पैसा लाग्छ । ८०–९० हजार एउटा खच्चडको पर्छ । पैसा हुनुपर्यो नि हा..हा..हा’ पीडा मिसिएको हाँसोमा उनी जवाफ दिन्छन् । त्यस्तै नेपालगन्जबाट आएका मजदुर सदाव कजगर पनि सोही काम गरेर नै महिनाको १८ हजार कमाउने गरेका छन् । उनी भट्टा सिजन सकिएपछि सहर बजारमा घर बनाउने काम गर्छन् ।
अहिले उनी नाइके अनिल राइदासको नेतृत्वमा काम गरिरहेको उनले बताए । नेपालगन्जकै अर्का मजदुर बदाम किरिया पनि मोबाइलमा गीत बजाउँदै काम गरिरहेका देखिन्छन् । उनले गीत बजाएर काम गर्दा मज्जा आउने बताए । ‘मज्जा आउँछ, काममा मन लाग्छ, काम गर्दा गर्दा पुरै दिन सजिलै बित्छ,’ उनले भने । मङ्सिरदेखि चैत–वैशाखसम्मको अवधिलाई इट्टाभट्टाको सिजन मानिन्छ । यस सिजनमा मजदुरहरू टाढा टाढाबाट आएर उपत्यकामा इट्टा पार्ने अर्थात् बनाउने काम गर्छन् । तराईबाट पनि मजदुरहरू आएर खच्चडलाई काँचो इट्टा बोकाउने गरेका देखिन्छन् । एउटा भाले घोडा र पोथी गधाबाट खच्चडको जन्म हुन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं