बाँकेमा लक्षित समुहका शतप्रतिशत किशोरी र किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्लामा १५ दिनमा सम्पन्न गरिएको एचपिभी खोप अभियान अन्तर्गत ३३ हजार ३७५ किशोरीलाई खोप लगाउने लक्ष्य निर्धारण गरिएकोमा ३२ हजार ९९९ किशोरीलाई अर्थात ९९ प्रतिशतलाई खोप लगाइएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले अभियान अन्तर्गत सबैभन्दा बढी खजुरा गाउँपालिकामा लक्ष्यभन्दा ५७ प्रतिशत बढी किशोरीलाई खोप लगाइएको बताए । खजुरामा तीन हजार २५३ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा पाँच हजार १०० जनालाई खोप लगाइएको छ । नेपालगन्ज उपमहानगरपालिकामा पनि लक्ष्यभन्दा दुई प्रतिशत बढी किशोरीलाई खोप लगाईएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बताए ।
उनले प्रायजसो खोप अभियानमा पछाडी पर्ने नेपालगन्ज उपमहानगरमा यस पटक एचपिभी खोप उत्साहपूर्ण रुपमा लगाएको देखिएको बताए । प्रमुख शाहीका अनुसार नेपालगन्जमा आठ हजार २६२ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा आठ हजार ४०० जनाले खोप लगाएका छन् । यस्तै डुडुवा गाउँपालिकामा पनि लक्ष्यको ९९ प्रतिशत किशोरीले खोप लगाएका छन् भने राप्तीसोनारी गाउँपालिकामा ९७ प्रतिशतले खोप लगाएका छन् । जानकीमा ९० प्रतिशत, बैजनाथमा ८९ प्रतिशत र नरैनापुरमा ८८ प्रतिशत किशोरीले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सबैभन्दा कम खोप लगाउनेमा कोहलपुर नगरपालिकामा ८३ प्रतिशत किशोरीले खोप लगाएको जनाउँदै जिल्लाका खोप फोकल पर्सन श्रेष्ठले किन यहाँ सबैले खोप लगाएनन् सो बारेमा अनुसन्धान गरिने बताए । जिल्लाका ३३ हजार ३७५ किशोरी र किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्यका साथ माघ २२ गतेबाट खोप अभियान शुरु गरिएको जनाउँदै सो क्रममा आठ पालिकालाई दुई चरणमा बिभाजन गरेर खोप लगाउने कार्य गरिएको खोप फोकल पर्सन श्रेष्ठले बताए ।
फागुन ६ गतेसम्म सञ्चालन गरिएको सो अभियान अन्तर्गत जिल्लामा कक्षा ६ देखि १० सम्मका किशोरी र बिद्यालय बाहिरका १० देखि १४ वर्ष उमेरका किशोरी तथा किशोरीहरुलाई उक्त खोप लगाइएको थियो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार पहिलो चरण अन्तर्गत माघ २२ गतेदेखि फागुन १ गतेसम्म नेपालगन्ज, कोहलपुर, खजुरा र जानकीमा खोप अभियान सञ्चालन गरिएको थियो भने दोस्रो चरणमा माघ ३० गतेदेखी फागुन ६ गतेसम्म राप्ती सोनारी, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकामा खोप दिने कार्यक्रम सञ्चालन गरिएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके