सूचनाको शक्ति - The Power Of Information

        

खुला पत्र

कोहलपुरका जनप्रतिनिधि र कर्मचारीले आत्मसमीक्षा कहिले गर्नुहुन्छ ?

कोहलपुर नगरपालिकाले उपलब्ध बजेटको सही सदुपयोग नगरेको, अनावश्यक खर्च गरेको र योजनाहरू पारदर्शी रूपमा सञ्चालन नगरेको गुनासो नागरिक स्तरमा मात्रै सिमित नरहेर राज्यको नियामक तहमा पुगेको छ ।

सम्माननीय मेयर, उपमेयर, वडाध्यक्षहरू, नगर कार्यपालिका सदस्य, सदस्यहरू र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् सेवारत कर्मचारी ज्युहरु,

नमस्कार !

कोहलपुर नगरपालिकाको एउटा आम नागरिकको तर्फबाट यो पत्र लेख्दै गर्दा म गहिरो चिन्तन र गम्भीर आत्मसमीक्षाको आवश्यकताबारे औंल्याउन चाहन्छु । हालैका विभिन्न मूल्यांकनहरू राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगको कार्यसम्पादनको प्रारम्भिक नतिजाले आशाभन्दा निराशा छाएको छ ।

यस्तै राज्यका आन्तरिक मुल्यांकनका LISA, FRA, LED सूचकांकहरूको नतिजाले कोहलपुर नगरपालिकालाई कस्तो स्थितिमा देखाउने हो अध्ययनको विषय होला । तर अहिले सार्वजनिक भएको यस स्थितिले कोहलपुर नगरवासीको जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ ।

अनावश्यक टिप्पणी आरोप प्रत्यारोप स्पष्टीकरण तिर लाग्नुभन्दा सुधारमै केन्द्रित हुन आवश्यक छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगको प्रतिवेदन सार्वजनिक अन्तिम नभई प्रारम्भिक प्रतिवेदन सम्बन्धी समाचार प्रकाशितपछि कार्यालयका जिम्मेवार व्यक्तिहरुको सार्वजनिक दृष्टिकोण अभिव्यक्तिले झनै आशंका पैदा गरेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगको मूल्यांकनले शिक्षा स्वास्थ्य रोजगार लगायतका क्षेत्रमा सेवा प्रवाह कमजोर छ, पारदर्शीताको कमी छ, वित्तीय अनुशासनहिनता चरम रहेको छ र प्रशासनिक कार्यशैली अझै सुधार हुन सकेको छैन भन्ने तथ्य सार्वजनिक भैसकेको छ ।

नागरिक आवाज र प्रशासनीक उदासीनता

नगरपालिकाका जिम्मेवार पदाधिकारीहरूले नागरिकहरूबाट निरन्तर उठाइएका प्रश्न, सुझाव र गुनासाहरूलाई गम्भीर रूपमा लिनुपर्दछ । नागरिक समाज, सञ्चारमाध्यम र अन्य सरोकारवाला पक्षहरूले पटक–पटक अनियमितताविरुद्ध आवाज उठाएका छन् । पारदर्शीता र सूचनाको हकको प्रभावकारी कार्यान्वयनको हुन सकिरहेको छैन ।

नागरिकले समय समयमा सेवा प्रवाहको सुधारका लागि खबरदारी गरेका छन् । तर वास्तविक सुधारको संकेत नदेखिनु गम्भीर चिन्ताको विषय हो । नगरपालिकाले सूचना प्रवाहलाई सहज, पारदर्शी र पहुँचयुक्त बनाउन आवश्यक कदम चाल्नुपर्नेछ । जनप्रतिनिधिहरू केवल चुनावी वाचा पूरा गर्न होइन, नागरिक जीवन सहज बनाउन प्रतिवद्ध हुनुपर्दछ ।

वित्तीय अनुशासनको अभाव र योजनाहरूको अनिश्चितता

नगरपालिकाले उपलब्ध बजेटको सही सदुपयोग नगरेको, अनावश्यक खर्च गरेको र योजनाहरू पारदर्शी रूपमा सञ्चालन नगरेको गुनासो नागरिक स्तरमा मात्रै सिमित नरहेर राज्यको नियामक तहमा पुगेको छ । सार्वजनिक खरिद खर्च कसरी भइरहेको छ ? कुन योजनामा कति रकम विनियोजन भएको छ ? अनुगमन संयन्त्र कत्तिको प्रभावकारी छ ?

यी सबै प्रश्नहरूको जवाफ नागरिकले खोजिरहेका छन् । नगरपालिका प्रशासनले वित्तीय पारदर्शिता बढाउन अनलाइन प्रणालीमार्फत खर्च विवरण सार्वजनिक गर्ने, सार्वजनिक सुनुवाइ मात्र नगरी नागरिक बजेट कार्यक्रम लागू गर्ने र प्रत्येक वडास्तरमा अनुगमन समितिहरू प्रभावकारी बनाउने कार्य गर्नुपर्छ ।

सेवा प्रवाह सुधारको प्राथमिकता

नगरपालिकाका सेवाहरू नागरिकमैत्री, छिटोछरितो र प्रविधिमैत्री हुनुपर्छ । तर हाल सेवा प्रवाहमा भएको ढिलासुस्ती, अपारदर्शिता र लापरबाहीले जनतामा निराशा पैदा गरेको छ । शैक्षिक सुधारको अभियानको प्रभावकारीता, स्वास्थ्य सेवाको चरम लापरबाहीको पक्षपोषणले पुष्टि गरेको छ नगरपालिकाको प्रशासनिक क्षेत्रको अवस्था झन गम्भीर छ ।

केही गर्नैपर्छ सेवाप्रवाह सुधारका लागि

१. प्रशासनिक सुधार – कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकन गर्दै जवाफदेहिता सुनिश्चित गर्ने ।

२. डिजिटल प्रविधिको प्रयोग – डिजिटल सेवा प्रणाली लागू गरेर प्रक्रियालाई नियमित छिटो र पारदर्शी बनाउने ।

३. सेवा प्रवाहमा निगरानी – सेवाग्राही नागरिकहरूको प्रतिक्रिया राय सुझाव संकलन गर्दै आवश्यक सुधार गर्ने ।

अनियमितता र दण्डहीनताको अन्त्य

कोहलपुर नगरपालिकामा अनियमितता र दण्डहीनताका विषयमा विभिन्न तहबाट प्रश्न उठिरहेको छ । योजनाहरू सिमित व्यक्तिहरूको हातमा केन्द्रित हुनु, ठेक्का प्रक्रियामा पारदर्शिता नहुनु, अनि अनुगमन संयन्त्र कमजोर हुनुले दण्डहीनताको स्थिति सिर्जना गरेको छ । हामी नगरवासी आशावादी छौं, नगरपालिकाले अनियमिततामा संलग्न जो–कोहीलाई कारबाहीको दायरामा ल्याउनेछ । सार्वजनिक खरिद प्रक्रियालाई पूर्णरूपमा पारदर्शी बनाउनेछ । नागरिक सेवाग्राही मात्र होइन नियमन नियन्त्रण र समृद्धिको साझेदार रहेको निगरानी संयन्त्र स्थापना गर्नेछ ।

अब आत्मसमीक्षा नगरी सुधार सम्भव छैन

कोहलपुर नगरपालिकाले अब पुरानै शैलीलाई निरन्तरता दिएर समृद्धि हासिल गर्न सक्दैन । नागरिकहरू सचेत छन उनीहरू अधिकारप्रति सचेत छन् । यदि नगरपालिका प्रशासनले आवश्यक सुधार नगरेको खण्डमा नागरिक खबरदारी अझ तीव्र हुनेछ । खुल्ला पत्रको आशय आग्रह केबल आलोचना गर्नका लागि होइन, सुधारको मार्ग पहिल्याउनका लागि पनि हो ।

नगरपालिकाले जनताको पक्षमा काम गर्नुपर्छ, नागरिकहरूसँग संवाद बढाउनुपर्छ, वित्तीय सुशासन, पारदर्शिता कायम गर्नुपर्छ र सेवा प्रवाहमा व्यापक सुधार गर्नुपर्छ । हामी नगरवासीहरू कोहलपुर नगरपालिकाको विकास चाहन्छौं । यसका लागि तपाईं नेतृत्वकर्ताहरूले आत्मसमीक्षा गर्दै सुधारको बाटो अवलम्बन गर्नुपर्छ । पारदर्शी कार्ययोजना, उत्तरदायी जवाफदेहीता र सुशासनमैत्री सेवा प्रवाहमा उत्कृष्ट नगरपालिका निर्माणका लागि हामी नागरिकहरू तपाईंहरूको साथमा छौं, धन्यवाद !

जनताका जनप्रतिनिधि र सेवाका जनशक्तिलाई बाँकी कार्याकाल सफलताको शुभकामना ।

सधैं सुधार र परिवर्तनको पक्षमा,
भुमबहादुर भण्डारी
कोहलपुर, बाँके

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलवार १७:०९

लोकप्रिय