सूचनाको शक्ति - The Power Of Information

        

घरबासले जोगाउँदैछ मगर संस्कृति

हरियो सालको पातको टपरी । त्यसमा बाफ उड्दै गरेको तातो सेल रोटी । अचार, आलु अनि गेडागुडी । हेर्दै खाउँखाउँ लाग्ने । मुखले चाख्नुअघि आँखैले लोभ्याउने (होमस्टे) घरबासको परिकार । लमजुङको बेँसीसहर नगरपालिका–२ नरुवाल मगर घरबासकी सावित्री आलेमगरका आँगनमा आउने जो कोही पाहुनाले यसरी नै मौलिक स्वाद चाख्न पाउँछन् ।

‘पहुँनालाई मीठो गरी सत्कारले खुवाउनुपर्छ,’ उनले अनुभव सुनाउँदै भनिन्, ‘बोली वचन मीठो भए, खाना झनै स्वादिलो हुन्छ ।’ सावित्रीले घरबासमा व्यापार मात्रै गर्दिनन् । त्यससँगै आफ्नो समुदायको कला, संस्कृति र संस्कारको समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पहिचान झल्काउँछिन् ।

‘सेल रोटी पेटभरि खाउँ है !
रैथाने चामलले बनाएको  केही हानि गर्दैन ।’

सावित्रीले हरेक परिकारको फाइदा र स्वादका बारेमा प्रष्ट पार्छिन् । नरुवाल मगर घरबासमा केही साताअघिमात्रै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पुगेका थिए । पुग्नुको प्रसङ्ग बेग्लै थियो । तर, त्यहाँ मन्त्री गुरुङलाई गरिएको सत्कार र आत्मीयता अन्य अतिथिलाई जस्तै समान थियो ।

उही सालको पातका टपरीमा सेल, अचार लगायत परिकार खुवाएर मन्त्रीलाई स्वागत गरिएको थियो । सावित्रीले भनिन्, ‘घरबास जति मौलिक हुनसक्यो उति राम्रो हो ।’ सञ्चारमन्त्री गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा उद्घाटन गरिएको नरुवाल मगर घरबास लमजुङ जिल्लाकै मगर समुदायले सञ्चालन गरेको पहिलो घरबास हो ।

लमजुङ बहुजाति, भाषाभाषी, संस्कृति र संस्कारले भरिएको जिल्ला हो । यहाँका थुप्रै समुदायले आआफ्नो कला र सभ्यता प्रदर्शन गरे पनि पर्यटन प्रवद्र्धनको मूल आधार बन्न सक्ने भन्दै मन्त्री गुरुङले मुख्यमन्त्री हुँदा घरबास सञ्चालन र प्रवद्र्धनमा जोड दिएका थिए । मन्त्री गुरुङका अनुसार गण्डकी प्रदेशमा ३१० र लमजुङ जिल्लाभर १२ वटा घरबास सञ्चालनमा छन् ।

‘लमजुङ घरबासले धानेको जिल्ला हो । यहाँका अधिकांशले कृषिसँगै घरबास सञ्चालन गर्दछन्,’ मन्त्री गुरुङले भने, ‘घरबासले एकातिर स्थानीय व्यवसायमा टेवा पुर्याउँछ भने अर्कोतिर यहाँको कला, संस्कृति र सभ्यताको संरक्षण गर्छ ।’

मगरद्वारा सञ्चालित जिल्लाकै पहिलो घरबासका अध्यक्ष हेमबहादुर आलेले यो व्यासायले स्थानीयको आर्थिकस्तर सुधार गर्नुका साथै रोजगारीको अवसर पनि सिर्जना गरो बताए । सुरुमा १० घरले घरबास सञ्चालन गरेका भन्दै अहिले आयआर्जनको सम्भावना देखेर थप दुई घरमा पनि होमस्टे सञ्चालन भइरहेको उनले जानकारी दिए ।

आफ्नै गाउँघरमा बसेर खेतीपाती गर्दै दुई चार पैसा आम्दानी गर्न सकिने हुँदा घरबास व्यवसाय लाभदायिक रहेको हेमबहादुरले अनुभव सुनाए । मगर घरबासमा पर्यटक आउनुको अर्को कारण यहाँबाट देखिने हिमशृङ्खलाका दृश्यहरू हुन् । पछिल्लो समय हिमालको हिउँ घट्दै गएको र कालापत्थर देखिँदैन थालेको पर्यटन आकर्षण घट्ने हो कि भन्ने चिन्ताले सताउन थालेको घरबास सञ्चालक बताउँछन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलवार १४:११

लोकप्रिय