भारतको नयाँ दिल्ली रेलवे स्टेशनमा भयावह भागदौड मच्चिँदा १८ जनाले ज्यान गुमाएका छन् । भारतीय पत्रिका दैनिक भास्करका अनुसार उक्त घटनामा १४ महिला र ३ बालबालिकासहित १८ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाइते भएका छन् ।
शनिबार दिउँसो ४ बजेदेखि नै महाकुम्भ यात्राका लागि ठूलो संख्यामा यात्रुहरू स्टेशनमा उपस्थित भएका थिए । राति करिब ८ः३० बजे प्रयागराज जाने तीनवटा रेल ढिला भएपछि यात्रुहरूको भीड अझ बढ्यो । प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा अत्यधिक भीड भएपछि त्रासको माहोल सिर्जना भयो र भागदौड मच्चियो । घटनापछि भारतीय रेलमन्त्री अश्विनी वैष्णवले तुरुन्तै छानबिनको आदेश दिएका छन् ।
रेलवे स्टेसनमा भएको भागदौडबारेको प्रश्नमा डीसीपी रेलवे केपीएस मल्होत्राले भने, ‘भागदौडको कारण छानबिनपछि बाहिर आउनेछ । यो काम रेलवेले गर्नेछ,’ उनले भने, ‘हामीले भीडको अनुमान गरेका थियौँ । तर, दुईवटा रेल ढिलो भएको र त्यहाँ धेरै मानिस जम्मा भएकाले यस्तो अवस्था आएको हो । रेलवेले तथ्य पत्ता लगाउने काम गर्नेछ ।’
मल्होत्राले भने, ‘करिब ९ बजे रेल चल्दा भीड बढ्यो । एकै ठाउँमा धेरै मान्छे हुँदा र ट्रेनको प्रतीक्षामा हुँदा कुनै गलत सूचना फैलियो भने यसले पनि भागदौड निम्त्याउँछ । अब के कारणले यस्तो भयो भन्ने कुरा हो । त्यो विन्दु अनुसन्धानपछि आउनेछ, जुन रेलवेले गर्नेछ ।’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
महाकुम्भ मेलाका क्रममा यसअघि पनि यस्ता दर्दनाक घटनाहरू भएका छन् । जनवरी २९ मा प्रयागराजको महाकुम्भमा भागदौड हुँदा ३० जनाले ज्यान गुमाएका थिए । त्यस्तै, फेब्रुअरी १०, २०१३ मा प्रयागराज रेलवे स्टेशनमा भागदौड हुँदा ३६ जनाको मृत्यु भएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं