सूचनाको शक्ति - The Power Of Information

        

मामा घरमा चितुवाले आक्रमण गर्दा बालकको मृत्यु

बर्दियामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका–७ भाट चोकस्थित मनोज कँडेलको घरमा चितुवाले आक्रमण गर्दा अढाई वर्षीय रिहान चलाउनेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

रिहान मनोजका भान्जा हुन् । ‘आमा रचना चलाउनेसँग मामा घर भएको बेला शनिबार साँझ करिब सात बजेतिर बालकलाई चितुवाले आक्रमण गरेर बेपत्ता बनाएछ,’ जिप्रका बर्दियाका डीएसपी ऋषिराम घर्तीले भने ।

डिएसपी घर्तीका अनुसार खोजतलास गर्ने क्रममा दुई घण्टापछि करिब ५०० मिटर टाढा बालकको शव फेला परेको हो । आँगनमा खेलिरहेका बालकलाई चितुवाले आक्रमण गरेर बेपत्ता बनाएपछि प्रहरी र स्थानीयले खोजी सुरु गरेका थिए ।

रचना बाँकेको राप्तीसोनारी गाउँपालिका–५ बाट माइत गएको बेला घटना भएको प्रहरीले जनाएको छ । चितुवाले आक्रमण गर्दा बालकको घाँटी र टाउकोको पछाडिको भागमा गहिरो घाउ देखिएको छ ।

गएको माघ २५ गते पनि सोही स्थानमा चितुवाले आक्रमण गर्दा ५१ वर्षीया जुनाकुमारी लामिछानेको मृत्यु भएको थियो । बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका गाउँहरुमा पाटेबाघ तथा चितुवा आतंक बढेपछि स्थानीय त्रसित भएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतवार ०९:०८

लोकप्रिय