सूचनाको शक्ति - The Power Of Information

        

सावधान ! तपाईँको नङले बताउन सक्छ यस्ता स्वास्थ्य समस्या

तपाईँको हातमा रहेको नङलाई कति ख्याल गर्नु भएको छ । यसको आकार, रंग वा बनावट कस्तो छ ध्यान दिनुभएको छ ? अथवा तपाइँको नङले तपाईँलाई कुनै रोगको संकेत गरेको थाहा पाउनु भएको छ ? तर हातका नङले तपाइँको स्वास्थ्य अवस्था बताउँछ भन्ने कुरा कमैलाई थाहा छ ।

नङले नै तपाईँको स्वास्थ्यको बारेमा धेरै कुराको खुलासा गर्छ । तपाईँलाई अचम्म लाग्न सक्छ कि नङले मानिसको रोगको खुलासा गर्न गर्छ । यसको मुख्य कारण भनेको नङ पक्कै पनि शरीरको केही त्यस्तो भाग हो जुन बाहिरबाट देख्न सकिन्छ । नङ भनेको छालाकै विस्तारित रूप हो र छालाले तपाईँको शरीरमा के भइरहेको छ भनेर धेरै नै भन्न सक्छ ।

धेरैजसो समय नङमा हुने परिवर्तनहरू हानिकारक हुँदैनन् र नङको चोटपटकका कारणले मात्रै परिवर्तन भएको हुनसक्छ । तर यदि तपाईँले आकार, रंग वा बनावटमा परिवर्तन स्थायी हुँदै गएको देख्नुभयो भने तपाईँले डाक्टरको सल्लाह लिनुपर्छ । नङबाट समग्र स्वास्थ्यको अवस्था कसरी पत्ता लगाउने भन्ने बारेमा पुराना ज्ञानहरूको कुनै कमी छैन ।

सामान्य अवस्थाहरू नङ हेरेर नै पनि पहिचान गर्न सकिन्छ । बिरामीलाई जाँच्दा डाक्टरले नङमा आएको रङ, मोटोपना र आकारको परिवर्तनलाई हेर्छन् । उदाहरणका लागि, स्वस्थ नङको रङ छालामा गुलाबी र टुप्पामा सेतो हुनुपर्छ । नङको अन्य रङले सङ्क्रमणको संकेत वा अन्य रोगको संकेत गरेको हुन सक्छ ।

नङके हो ?

नङ केराटिनबाट बनेका हुन्छन् जुन एकदमै कडा प्रोटीन हो । जसले हात र खुट्टालाई विभिन्न तनावबाट जोगाउँछ । नङको फेदमा देखिने अर्ध–चन्द्र आकारलाई लुनुला भनिन्छ जुन नङ बन्ने ठाउँ हो र त्यहाँ बनेका कोशिकाहरूले कडा नङ बनाउँछ । यो क्यूटिकल माथि बस्छ जसले मृत कोशिकाहरूको तहलाई छालाको सतहमा जोड्छ ।

क्यूटिकलले नङलाई सुरक्षा दिन्छ र ब्याक्टेरिया, फन्जाइ र अन्य रोग लगाउने कुराहरूलाई रोक्छ । मान्छेको भित्री स्वरूप नियाल्न आँखा हेर्न सकिन्छ भने जस्तै चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेछन् । चिकित्सकहरूले छालासम्बन्धी समस्यादेखि मिर्गौला रोग वा अटोइम्यून डीसअर्डर्सहरूसमेत पत्ता लगाउन नङ हेर्छन् ।

रोगको संकेत

नङमा कहिलेकाहीँ देखापर्ने सेतो दाग (जसलाई लुकोनिकिया भनिन्छ) क्याल्सियमको कमीको संकेत हो भनेर सुनेका छौँ । तर के यसमा सत्यता छ ? नङमा रहेको क्लबिङले रगतमा अक्सिजनको मात्रा अत्यन्तै कम भएको संकेत गर्छ । यो प्रायः फोक्सोको क्यान्सरसँग सम्बन्धित छ तर यसले मुटुको सङ्क्रमणलाई पनि संकेत गर्न सक्छ ।

यो देखिने अन्य अवस्थाहरूमा सेलिआक रोग, कलेजोको सिरोसिस र फोक्सोको सङ्क्रमण पनि पर्छन् । यदि तपाईँले क्लबिंग भएको बिरामी देख्नुभयो भने तुरुन्तै एक्स–रे गराउनुपर्छ किनकि त्यसले फोक्सोको क्यान्सरको जनाउ दिएको हुन सक्छ । सामान्यतया, लुकोनिकिया नङमा लागेको चोटको कारण हुन्छ ।

आफ्नो औँलाका नङ ढोकामा च्यापिनु, धेरै पटक मेनिक्योर गर्नु वा खुट्टामा कुनै भारी वस्तु खसाल्नुले यस्तो दाग निम्त्याउन सक्छ । जे भए पनि नङमा सेतो रङ देखिनुले स्वास्थ्य समस्याको संकेत गर्न सक्छ । नङमा सेतो दाग देखिनुले सोराइसिसको संकेत गरेको हुन सक्छ जसले छालामा सुन्निने र दागहरू देखिने हुन सक्छ ।

यदि पूरै नङ सेतो भयो भने त्यसले रक्त प्रवाहमा प्रोटीनको कमीलाई संकेत गर्न सक्छ र त्यसले मिर्गौला, कलेजो वा मधुमेहको रोग निम्तिएको हुन सक्छ । यदि मानिसहरूको रगतमा प्रोटिनको मात्रा कम छ भने प्रायः यसले पूरै नङ सेतो बनाउँछ । अर्कोतर्फ नीलो नङ हुनु भनेको शरीरमा अक्सिजनको कमी भएको हो ।

यो गम्भीर मुटु रोग वा एम्फाइसेमाको संकेत हुन सक्छ र यो तपाईँले सकेसम्म चाँडो डाक्टरलाई देखाउनु पर्ने कुरा हो । यदि तपाईँले नङमुनि कालो रेखाहरू देख्नुभयो भने त्यो नङमा केही ठोक्किएर भएको हुन सक्ने सोच्छौँ तर त्यो एक दुर्लभ तर गम्भीर प्रकारको छालाको क्यान्सर हुन सक्छ ।

नङमुनि रगत बगेको छ र यो निको भएन भने अझ गम्भीर कुराको संकेत गरेको हुन सक्छ । यो भनेको तपाईँलाई स्प्लिन्टर हेमोरेज हुन सक्छ जुन रगतका साना रातो धर्काहरू जस्तै देखिन्छन् । यसले मुटुको भल्भको सङ्क्रमण हुन सक्छ । यदि तपाईँले खुट्टाको औँलाको नङ पहेँलो वा सेतो भएको देख्नु भयो भने त्यो फङ्गल सङ्क्रमण भएको हो ।

नाजुक नङ

नङको आकारले पनि समस्याहरूको खुलासा गर्न सक्छ । स्वस्थ औँला र नङहरू माथि थोरै उक्सिएको र बाहिरपट्टि घुमेका हुन्छन् । तिनीहरूमा कुनै पनि खाडल जस्ता धसिएका हुनु हुँदैन । यदि तिनीहरूमा धसिएको छ भने त्यसले तपाईँमा कोइलोनकिया भएको संकेत हुन सक्छ । यो नङको त्यस्तो अवस्था हो जहाँ नङ भित्रतिर घुम्छ र पातलो र खोक्रो देखिन्छ ।

केही अवस्थामा कोइलोनकिया भएका मानिसहरूको नङमा तरल पदार्थको थोपा अड्ने गहिरो भाग हुन्छ त्यसैले यसलाई चम्चा नङ भनिन्छ । तपाईँको नङ चम्चा जस्तो देखियो भने एनिमिआ पनि हुनसक्छ । त्यस्तो बेला तपाईँको शरीरमा अक्सिजनका लागि पर्याप्त स्वस्थ रक्त कोषहरू हुँदैनन् । एनिमिआ फलाम तत्वको कमीका कारण हुन सक्छ ।

यद्यपि, यो सिइयाक रोगको पनि संकेत हुनसक्छ जसले तपाईँको सानो आन्द्रालाई नष्ट गर्न सक्छ । अर्कोतर्फ नङमा आएको केही परिवर्तनले शरीरमा पोषण तत्व कम भएको संकेत गर्छ । केही मानिसहरूको नङमा तेर्सो किनारहरू हुन्छन् जसलाई ब्यूज लाइन पनि भनिन्छ । अपर्याप्त प्रोटीन जस्ता कमीलाई यसले संकेत गर्न सक्छ ।

यद्यपि, यो मधुमेह र भास्कुलर रोगको संकेत पनि हुन सक्छ जुन शरीरका केही भागहरूमा रगतको प्रवाह कम हुने र सामान्यतया धमनीहरूमा बोसो र कोलेस्ट्रोल जम्मा हुने कारणले हुन्छ । त्यसैले यसको जाँच गराउनु अझै महत्वपूर्ण छ । अन्य अवस्थामा भने नङमा हुने परिवर्तन स्वास्थ्य समस्याले भन्दा पनि जीवनशैलीका कारणले हुनसक्छ । नङको माथिल्लो तह निस्किनुलाई अनिकोस्किजिया भनिन्छ र धेरै हात धुनाले, नङ सुक्खा हुनाले र नङमा लगाउने पालिसहरूको कारणले यस्तो हुन सक्छ ।

स्रोत : बीबीसी
प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार ११:३९

लोकप्रिय